१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

स्काइडाइभिङका लागि पर्यटककाे पोखरा रोजाइ

पोखराको पर्यटन तालतलैया, डाँडाकाँडा र हिमालमा मात्र सीमित छैन। यहाँको पर्यटनको हिस्सा संस्कृति र साहसिकता पनि हो। ‘नेचर, कल्चर र एडेभन्चर’ लाई पोखरा मात्र नभएर नेपालकै पर्यटन विकासको मूल आधार समेत मानिन्छ। प्रकृति र संस्कृतिले सजिएको पोखरा साहसिक पर्यटन गन्तव्यका रूपमा पनि परिचित छ।

प्याराग्लाइडिङदेखि हट एयर बेलुनसम्म, अल्ट्रालाइटदेखि स्काइडाइभिङसम्मका साहसिक खेल गतिविधिले पोखराको पर्यटनमा बेग्लै आकर्षण थपेका छन्। बर्सेनि ठूलो संख्यामा देशीविदेशी पर्यटक साहसिक र रोमाञ्चक खेलको अनुभव बटुल्न पोखरा आउँछन्। एरियल स्पोटर्स विधामा पर्ने स्काइडाइभिङ यतिबेला पोखरामा सञ्चालन हुँदै छ।

विसं २०६७ मा पोखरामा पहिलोपटक परीक्षण उडान गरिएको स्काइडाइभिङ त्यसयता वर्षको एकदुई याममा आयोजना हुँदै आएको छ। विशेष गरी असोज/कात्तिक र चैत/वैशाखको पर्यटकीय याममा स्काइडाइभिङका लागि आउनेको सङ्ख्या बढी हुन्छ। यस याममा यही नोभेम्बर १ देखि सुरु भएको स्काइडाइभिङ शनिबारसम्म सञ्चालन हुनेछ।

हेलिकप्टर सेवाप्रदायक सिम्रिक एयरसँग मिलेर इनस्काइ स्काइडाइभ कम्पनीले पोखरामा स्काइडाइभिङ गराइरहेको हो। पोखरा महानगरपालिका–२३ पामे, लौराकमा रहेको एभिया क्लबको हवाई खेलकुद अभ्यास मैदानमा स्काइडाइभिङ भइरहेको कम्पनीका सञ्चालक निर्मल पाण्डेले बताए।

पोखराको पुरानो विमास्थलबाट गएको हेलिकप्टर लौराकबाट १३ हजार फिटको उचाइमा पुगेपछि प्रशिक्षकहरूले पर्यटकलाई स्काइडाइभिङ गराउने गरेका छन्।  

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीलाई एकपटकमा जम्मा १५ दिनका लागि मात्र स्काइडाइभिङको अनुमति दिंदै आएको छ। “यो अवधिमा ५२ विदेशी र नेपालीले स्काइडाइभिङ गर्दै हुनुहुन्छ”, पाण्डेले भने, “स्काइडाइभिङका लागि १२ रसियन स्पोर्टस् जम्पर्स पोखरा आउँदै छन्, यसलाई नियमित रूपमा चलाउन सके पोखरामा धेरै विदेशी पर्यटक ल्याउन सकिन्छ।”

प्राधिकरणले स्काइडाइभिङका लागि पटके रूपमा नभई नियमित सञ्चालनको अनुमति दिएमा नेपालको पर्यटन क्षेत्रले ठूलो लाभ लिने उनले बताए। स्काइडाइभिङ कम्पनीहरूले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ‘आरएओसी’ दिन प्राधिकरणसँग माग गर्दै आएको पाण्डेले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मनोरञ्जनात्मक उड्डयन सेवा सञ्चालनका लागि इजाजतपत्र दिए पनि प्राधिकरणबाट ‘आरएओसी’ नपाएका कारण कम्पनीहरूले आफैं स्काइडाइभिङ सञ्चालन गर्न सकेका छैनन्। कम्पनीहरूले हेलिकप्टर कम्पनीसँग छुट्टै सम्झौता गरी स्काइडाइभिङ गराउँदै आएका छन्।

“एक पटकमा १५ दिनलाई मात्र अनुमति दिंदा स्काइडाइभिङको बजार प्रवर्द्धन र दिगो व्यवस्थापनमा चुनौती छ, अनुमति लिने प्रक्रिया पनि लामो र झञ्झटिलो भएकाले समस्या भइरहेको छ”, सञ्चालक पाण्डेले भने, “प्राधिकरणले ‘आरएओसी’ दिएमा कम्पनीहरू स्काइडाइभिङमा लगानी गर्न तयार छन्, यसबाट राज्यको आम्दानी पनि बढ्छ, रोजगारी पनि सिर्जना हुन्छ।”

अहिले तालिमप्राप्त र अनुभवी नेपाली प्रशिक्षकबाटै स्काइडाइभिङ गराइएको उनको भनाइ छ। केही वर्ष अघिसम्म पोखरामा विदेशीले मात्र स्काइडाइभिङ गराउँथे। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पोखरा स्काइडाइभिङका लागि उपयुक्त गन्तव्य रहेको बताए।

“पोखरा र सगरमाथा क्षेत्रको स्याङबोचेलाई स्काइडाइभिङको गन्तव्यस्थल बनाउने गरी तयारी भइरहेको छ”, उनले भने, “पटकपटक गरिएको स्काइडाइभिङको सफल उडान र अवतरणले पनि यी दुवै ठाउँको सम्भाव्य उजागर गरेको छ।”

प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्ने स्काइडाइभिङ कम्पनीलाई मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ‘आरएओसी’ दिने प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी भुलले बताए।

“केही कम्पनी सम्पर्कमा आइरहनुभएको छ, सकेसम्म यही आर्थिक वर्षदेखि नभए अर्को वर्षदेखि ‘आरएओसी’ दिन्छौं”, उनले भने, “मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र पाउने कम्पनीले जुनसुकै समयमा स्काइडाइभिङ गराउन पाउँछन्, अहिले जस्तो पटके अनुमतिपत्र लिनुपर्ने अवस्था रहँदैन।”

उक्त सञ्चालन प्रमाणपत्र लिन स्काइडाइभिङ कम्पनीहरूसँग आफ्नै वायुयान (हेलिकप्टर/जहाज) हुनुपर्ने नत्र हेलिकप्टर सेवा प्रदायकसँगको पाँच वर्षे सम्झौता चाहिने सूचना अधिकारीले भुलले बताए।

स्काइडाइभिङ गराउन चाहने कम्पनीका लागि छुट्टै आधारस्थल र एयर स्पेस पनि निर्धारण हुनुपर्ने उनको भनाइ छ। “स्थलगत प्राविधिक अध्ययनपछि मापदण्ड पूरा गर्ने कम्पनीलाई मात्र ‘आरएओसी’ दिन्छौं”, उनले भने, “कम्पनीहरूसँग स्काइडाइभिङ गराउने आफ्नै प्रशिक्षकसमेत हुनुपर्ने प्रावधान छ।”

इनस्काइ स्काइडाइभ कम्पनीका सञ्चालक पाण्डेले आफ्नो कम्पनी मार्फत अहिले नेपाली प्रशिक्षकले नै स्काइडाइभिङ गराइरहेको बताए। चीन, थाइल्याण्ड र दुवईमा तालिम लिएका अनुभवी प्रशिक्षक एलिस थापाले पोखरामा अहिले तीन प्याकेजमा स्काइडाइभिङ गराउँदै आएको बताए।

नेपालीका लागि डिलक्स प्याकेजको मूल्य ९५ हजार रूपैयाँ छ। भिआइपी प्योकजको एक लाख १५ हजार र डायमण्ड प्याकेजका लागि एक लाख ५० हजार रूपैयाँ तोकिएको छ।

विदेशीका लागि क्रमशः ७५०, ९०० र एक हजार २०० डलर कायम गरिएको प्रशिक्षक थापाले बताए। उनीसहित सुवास थापा, मनिष हिराचन र नेपालको पहिलो महिला स्काइडाइभर यशाेदा केसी थापाले पोखरामा स्काइडाइभिङ गराउँदै आएका छन्। “तालिमप्राप्त र अनुभवी विदेशी नागरिकहरू एकल (सोलो) स्काइडाइभिङका लागि पोखरा आउन रुचाउँछन्, पछिल्लो समय नेपालीहरुमा पनि स्काइडाइभिङको आकर्षण बढेको छ”, प्रशिक्षक थापाले भने, “अधिकांश पाइलटसहित (टेण्डम) उडान गर्नेहरू हुन्छन्।”

तेह्र हजार फिटमाथि रहेको हेलिकप्टरबाट हामफालेर प्यारासुटको सहायतामा अवतरण गर्ने गरिएको उनले बताए। हेलिकप्टरबाट हाम फालेको ५० सेकेन्डपछि प्यारासुट खुल्ने र त्यसपछि सातदेखि आठ मिनेटसम्म आकाशमा उडान हुने उनको भनाइ छ।

“स्काइडाइभिङ गर्ने साहसिक पर्यटकलाई पोखराका हिमाल र प्राकृतिक सौन्दर्यले लोभ्याउने गर्छ, उडानका बेला उनीहरू धेरै रोमाञ्चक बन्छन्”, प्रशिक्षक थापाले भने, “पोखरामा स्काइडाइभिङ गर्ने जोकोहीलाई जीवनकै अभूतपूर्व क्षणको अनुभव हुन्छ।”

उनले स्काइडाइभिङलाई नेपालमा व्यावसायिक रुपमा अगाडि बढाउने सोचले आफूले विदेशमा गएर तालिम हासिल गरेको बताए। “पोखरालाई स्काइडाइभिङ लगायत साहसिक खेलको केन्द्र बनाउन सकिन्छ, यसले रोजगारी सिर्जनादेखि देशको अर्थतन्त्रमा पनि ठूलो मद्दत पुग्छ”, प्रशिक्षक थापाले भने, “नागरिक उड्डयन प्राधिकरणले छिट्टै कम्पीहरूलाई ‘आरएओसी’ दिएर स्काइडाइभिङलाई नियमत सञ्चानल गर्ने वातावरण बन्नेमा हामी आशावादी छौं।”

प्रकाशित: २७ कार्तिक २०८२ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App