मुलुकको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ। बिवाइसी बागलुङअन्र्तगत दिगो पर्यटन प्रवर्द्धन परियोजनाको रु ७४ लाखको लागतमा पयटक सूचना केन्द्र स्थापना गरिएको हो।
सूचना केन्द्रमा सिकार आरक्षका गतिविधि, सिकारको जानकारी तथा नाउर, झारल, रेडपाण्डालगायत जनावरको खाग तथा छालाका वस्तुका बारेमा जानकारी समेत राखिएको ढोरपाटन सिकार आरक्ष कार्यालयले जनाएको छ। कार्यालय परिसरमा उक्त पर्यटन सूचना केन्द्रको भवन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको जनाउँदै यसले पर्यटकलाई सही सूचना प्रदान गर्ने बिवाइसी बागलुङका सचिव विक्रम पौडेलले विश्वास व्यक्त गरे।
यहाँ आउने पर्यटकलाई ढोरपाटनमा रहेका नाउर, झारल, डाँफे, रेडपाण्डालगायत विभिन्न जनावरका बारेमा जानकारी दिने उद्देश्यले बृहत् सूचना केन्द्र स्थापना गरिएको पौडेलेले जानकारी दिए। उनका अनुसार ढोरपाटनमा सिकार खेल्न विदेशी सिकारी हेलिकप्टर चार्टर गरेर आउने गरेका छन् भने आन्तरिक पर्यटक स्थलमार्गमार्फत भ्रमण तथा अवलोकनमा आउने गरेका छन्।
यसलाई लक्षित गरी दिगो पर्यटन प्रवर्द्धन परियोजनामार्फत रु ७४ लाख लागतमा सिकार आरक्षको मुख्य कार्यालय परिसरमा सूचना केन्द्र निर्माण गरिएको जनाउँदै बिवाइसीका सचिव पौडेलले भवन तयार भइसकेकाले अन्य आवश्यक संरचना थालिएको बताए। उनका अनुसार सम्पूर्ण काम सम्पन्न भएपछि सिकार आरक्षलाई हस्तान्तरणपश्चात् सूचना केन्द्र सञ्चालनमा आउनेछ।
भवन हस्तान्तरण भएर सिकार आरक्ष मातहतमा आएपछि आरक्षको मुख्यालयमा भएको सङ्ग्रहालय तथा सूचना केन्द्रका सामग्री यहाँ राखिने छ भने परियोजनाले डिजिटल सूचना बोर्डमा आरक्षका गतिविधि राख्ने तयारी गरिरहेको छ।
सूचना केन्द्रमा जङ्गली जनावरको सङ्ख्या, सिकार गरिएका जनावरको सङ्ख्या, पर्यटकको सङ्ख्या, नाउर तथा झारलको डमी (रुपाङ्कन) र डिजिटल सूचना बोर्ड राखिने ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए। विशेष गरी सिकार खेल्न अनुमतिप्राप्त नाउर तथा झारलको अवशेष, छालालगायत जानकारी राखिने उनको भनाइ छ।
ढोरपाटन नगरपालिका-९ मा आकर्षक पर्यटकीय केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भइसकेको रेञ्जर सुवेदीले जानकारी दिनुभयो। उनका अनुसार पहिलो चरणमा पर्यटन सूचना केन्द्र भवन निर्माणका लागि श्री डोलेश्वर महादेव निर्माण प्रालिसँग सम्झौता भएको छ।
ढोरपाटनमा आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ जना आन्तरिक र बाह्य पर्यटक भित्रिएका जनाउँदै सोबाट रु १९ लाख राजस्व सङ्कलन भएको आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दीप पङ्गेनीले उल्लेख गरे।
प्रकाशित: २९ चैत्र २०८२ ०७:०० आइतबार





