रौतहटमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ। ईशनाथ नगरपालिका ८ मनसरीका ४५ वर्षीय शेख जमरुलको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै कटहरिया नगरपालिका २ हथियायीका १६ वर्षीय शेराज लहेरी र नवीन यादवको शनिबार अबेर साँझ चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले बताए।
मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको र शव परीक्षण पश्चात अन्तिम सस्कारका लागि परिवारको जिम्मा लगाउने डिएसपी कार्कीले बताए।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण रौतहटको जन जीवन अस्तव्यस्त बनेको छ। वर्षाको पानीले गढिमाइ नगरपालिका २ समनपुरका करिब २० परिवारको घर डुबानमा परेपछि सुरक्षाकर्मीले तत्कालै उद्धार गरेर वडा कार्यालयमा राखेका छन्।
यस्तै वर्षाको कारण जिल्लाको दुई ठुला बागमती र बकैया नदीमा आएको बाढीका कारण सदरमुकाम गौरसहित दर्जन गाउँका खेतीयोग्य जमिन डुबानमा परेका छन्।
प्रमुख जिल्ला अधिकारी बिनोद खडकाले जिल्लामा बाढीको कारण कुनै किसिमको जनधनको क्षति हुन नदिनका लागि तीनै तहका सुरक्षा निकायलाई निर्देशन दिएको बताए। बागमती र बकैया नदीको संवेदनील स्थानहरूमा स्थानीय तहका प्रतिनिधिहरूको रोहवरमा बोरामा माटो राखेर मर्मत सम्भारको काम सुरु गरिसकेको बताए।
प्रकाशित: १९ आश्विन २०८२ ११:०७ आइतबार




