सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकअर्कामा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकअर्कामा ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। उनले मृत्यु हुनेको पहिचान हुन नसकेको बताए।
घाइतेको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए। रासस
प्रकाशित: २६ श्रावण २०८२ ०९:५८ सोमबार