ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ मिचिरीङमा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
बिहान करिब ९ः०० बजे निगुरादिनबाट फुङलिङ सदरमुकामतर्फ जाँदै गरेको मे.१.ज २५१९ नम्बरको बोलेरो गाडी सडकबाट पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि सडक केही समय अवरुद्ध भए पनि अहिले आवागमन सुचारु गर्ने प्रयास भइरहेको छ। घाइतेहरुलाई उपचारका लागि पाँचथरको फिदिम पठाउने तयारी भइरहेको बताइएको छ।
दुर्घटनामा परेर घाइते हुनेहरूमा सिदिङवा गाउँपालिका–५ लिम्बुदिन निवासी २५ वर्षीया सविना श्रेष्ठ (टाउको र निधारमा चोट), आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङ निवासी २६ वर्षीया रञ्जिता लिम्बु (बायाँ हात र टाउकोमा चोट) र सोही गाउँपालिकाका निगुरादिन निवासी घनश्याम ब्याङ्गु (बोलेरो चालक) रहेका छन्। तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २१ आश्विन २०८२ १०:१९ मंगलबार





