२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनमा प्रहरीको बन्दुक लुट्ने तीन पक्राउ

धनुषामा जेन-जी आन्दोलनका क्रममा लुटिएका दुई थान बन्दुक प्रहरीले बरामद गरेको छ।

जनकपुरधामस्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा सुरक्षामा खटिएका प्रहरीबाट लुटिएका हतियारसहित प्रहरीले तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

धनुषा प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका-९ का ३७ वर्षीय मनिष कुमार अधिकारी, २१ वर्षीय सन्तोष कुमार यादव र सहिदनगर नगरपालिका-३ यदुकूहाका २५ वर्षीय मनिष साह रहेका छन्।

प्रहरी उपरीक्षक नरहरी रेग्मीका अनुसार, मंगलबार साँझ करिब ५०-६० जनाको समूह लोकसेवा आयोगको कार्यालयमा प्रवेश गरी तोडफोडमा उत्रिएको थियो।

उक्त समूहले कार्यालय परिसरमा रहेका चारवटा सवारी साधन र सिसिटिभी क्यामरामा क्षति पुर्‍याउनुका साथै सुरक्षाकर्मीबाट हतियार समेत लुटेको थियो।

प्रहरीले विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी फुटेजको विश्लेषण र अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। ‘सिसिटिभी फुटेजमा कैद भएका तस्बिरको विश्लेषणका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ उपरीक्षक रेग्मीले भने।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०८२ १६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App