सरकारले मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ लाई प्रभावकारी कार्यान्वयनमा ल्याएको छ।
जेठ ११ गतेदेखि नै मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ सार्वजनिक गरी गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौंले योजनाको प्रभावकारी कार्यान्वयनमा ल्याएको हो।
देशभरि मनसुन सुरु भएसँगै हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकार योजनासहित अगाडि बढेको हो।
कार्य योजनामा मनसुन अवधिभर बाढी, पहिरो, डुबान, कटान तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख छ।
कार्ययोजना अनुसार मौसम तथा बाढी–पहिरोको पूर्वानुमानलाई थप प्रभावकारी बनाइ समयमै पूर्वसूचना प्रवाह गरिने उल्लेख छ। उच्च जोखिममा रहेका क्षेत्रको नियमित निगरानी गरिनुका साथै आवश्यक परे स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाइने याेजनामा उल्लेख छ।
यसैगरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य उद्धार निकायलाई चौबिसै घण्टा तयारी अवस्थामा राखिने पनि उल्लेख छ। उद्धारका लागि आवश्यक डुङ्गा, हेलिकोप्टर, एम्बुलेन्स, खोज तथा उद्धार उपकरण र जनशक्तिको पूर्वव्यवस्था गरिने कार्य योजनामा उल्लेख छ।
कार्य योजनाले सम्भावित प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, खानेपानी, त्रिपाल, कम्बल तथा अन्य अत्यावश्यक राहत सामग्रीको पूर्वभण्डारण गर्ने व्यवस्था गरेको छ। स्वास्थ्य सेवा, सरसफाइ तथा महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य टोली परिचालन गरिनेछ भने विस्थापित नागरिकका लागि अस्थायी आश्रय स्थलसमेत तयारी अवस्थामा राखिनेछ।
यस्तै, अवरुद्ध सडक, पुल, विद्युत् तथा सञ्चार सेवा यथाशीघ्र पुनः सञ्चालन गर्ने, कृषि तथा पशुधनमा हुन सक्ने क्षति न्यूनीकरणका उपाय अपनाउने तथा सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गर्दै विपद् व्यवस्थापनका सबै संयन्त्र परिचालन गर्ने व्यवस्था पनि कार्य योजनामा समेटिएको छ।
मनसुन अवधिभर क्षतिको नियमित अभिलेखीकरण, सूचना व्यवस्थापन तथा विपद्पछिको पुनः स्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखिएको कार्य योजनाले जनाएको छ।
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौकी प्रवक्ता शान्ति महतले प्राधिकरणले यसअघि नै तयार गरिसकेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ लाई प्रभावकारी कार्यान्वयनमा ल्याएको बताइन्।
प्राधिकरणले अवरुद्ध भएका राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न आवश्यक पर्ने हेभी इक्युपमेन्ट चालकसहित २४ अैं घण्टा तयारी अवस्थामा राख्न सडक विभाग, सातवटै प्रदेश र ७५३ वटै स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनले बताइन्।
साथै, खोज, उद्धार तथा राहतमा प्रयोग हुने न्यूनतम सामग्री तयारी अवस्थामा राख्न र सडक अवरुद्ध भई सवारी साधन सञ्चालन हुन नसक्ने परिस्थितिमा कम्तीमा १५ दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको उनको भनाइ छ।
यस्तै, समयमै अन्तरदेशीय विपद्सम्बन्धी पूर्व सूचना प्राप्त गर्न कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने लगायतका निर्णय पनि बैठकले गरेको जानकारी उनले गराइन्।
प्रवक्ता महतका अनुसार सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी तथा पानीको बहाव उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग र स्थानीय सडक सञ्जालमा विपद्को गम्भीरताअनुसार आवश्यकता परे सवारी साधन सञ्चालनमा रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गरिएको छ।
प्राधिकरणका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम तथा बाढी पूर्वानुमान महाशाखालाई मनसुन अवधिभर सातै दिन २४ औँ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय पनि गरिएको छ। विपद्को समयमा खोज तथा उद्धार सामग्रीको अभाव हुन नदिन निजी क्षेत्र, संघसंस्था, नागरिक समाज लगायतसँग सहकार्य गरी ड्रोन एसोसिएसन, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् लगायतलाई प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले मनसुनबाट उत्पन्न हुनसक्ने विपद् तथा जोखिमलाई न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमान्ड पोस्ट गठन गरिसकेको छ।
एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी बाढी, पहिरो, अविरल वर्षा, आगलागी, सर्पदंश, चट्याङ र जनावर आक्रमणका गरी २६ वटा विपद्का घटना घटेको गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौंले जनाएको छ।
यी घटनाबाट १ जनाको मृत्यु, ९ जना घाइते भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले राखेको जानकारी अनुसार ललितपुरको गोदावरी नगरपालिका वडा नं ९ छम्पी काफ्लेबोटस्थित एक टहरामा अचानक ग्यास लिक भई आगलागी हुँदा उक्त आगलागीमा परी ७८ वर्षीय वृद्धको मृत्यु भएको हो।
प्रकाशित: १४ असार २०८३ १६:५३ आइतबार





