काठमाडौँस्थित भारतीय दूतावासमा विभिन्न कार्यक्रम गरी भारतको ७९औँ स्वतन्त्रता दिवस मनाइएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर समारोहको शुभारम्भ गरेका हुन्। कार्यक्रममा भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो।
त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरे। उनले रु छ करोड ४० लाखको एजीआइएफ ९आर्मी ग्रुप इन्स्योरेन्स फण्ड० चेक हस्तान्तरण गरेका थिए।
दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ। यो पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने विश्वास गरिएको छ।
कार्यक्रममा नेपालमा रहेका भारतीय समुदायका सदस्यका साथै दूतावासका अधिकारीहरू र उनका परिवारले उत्साहजनक सहभागिता जनाएका थिए। सो अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीले देशभक्तिपूर्ण गीतमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। रासस
प्रकाशित: ३० श्रावण २०८२ १६:२७ शुक्रबार



-600x400.jpg)

