पर्साको वीरगन्ज बजारमा सवारीसाधन रोकेको (पार्किङ) विषयलाई लिएर विवाद हुँदा आइतबार साँझ दुई समुदायबिच झडप भएको छ।
सडक पेटीमा जिप रोक्दा पछाडिबाट आएको मोटरसाइकललाई अवरोध पुगेपछि सुरु भएको सामान्य भनाभनले उग्र रूप लिँदा झडप भएको हो।
पर्साका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीका अनुसार एक व्यक्तिले आफ्नो घर अगाडि सडक छेउमा जिप रोकेका थिए।
सोही क्रममा पछाडिबाट आएको मोटरसाइकललाई अगाडि बढ्न अवरोध भएपछि मोटरसाइकल चालकले हर्न बजाएका थिए।
बाटो छेकेको विषयलाई लिएर दुवै पक्षबीच कुराकानी हुँदाहुँदै विवाद सुरु भएको थियो।
‘यो अरू कुनै ठूलो घटना होइन, एउटा गाडी सडकमा रोकिएको र पछाडिबाट आएको बाइकलाई बाटोमा अवरोध भएपछि हर्न बजाएको विषयबाट सुरु भएको विवाद हो,’ एसपी सुवेदीले नागरिक न्युजसँग भने।
विवाद बढ्दै गएपछि घटनास्थलमा करिब दुईदेखि चार सयको हाराहारीमा मानिसहरू जम्मा भएर होहल्ला गर्दै सामान्य ढुंगामुढासमेत गरेका थिए।
स्थिति तनावपूर्ण बन्न नदिन प्रहरीले तत्कालै सामान्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको एसपी सुवेदीले जानकारी दिए।
अहिले घटनास्थलको अवस्था पूर्ण रूपमा सामान्य र प्रहरीको नियन्त्रणमा रहेको छ।
यस घटनामा हालसम्म कसैलाई पनि पक्राउ नगरिएको र अवस्था शान्तिपूर्ण रहेको पर्सा प्रहरीले जनाएको छ।
प्रकाशित: १० फाल्गुन २०८२ २०:२८ आइतबार





