१६ पुस २०८२ बुधबार
image/svg+xml
समाज

धरहरा अब राति ८ बजेसम्म खुला

धरहरा अब बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म दैनिक १२ घण्टा खुला हुने भएको छ। साउन १ गतेदेखि धरहरा सार्वजनिक बिदाको दिनमा पनि खुला गर्ने निर्णय सहरी विकास मन्त्रालयले गरेको छ।

असार मसान्तसम्म धरहरा कार्यालय सञ्चालन समय बिहान १० बजेदेखि बेलुका साढे ४ बजेसम्म हुनेछ। सार्वजनिक बिदाको दिनमा धरहरा बन्द हुने गरेको थियो। शनिबारको सट्टा बुधबार बन्द हुने गरेको धरहरा अब उक्त दिन पनि बन्द नहुने भएको छ।

सार्वजनिक बिदाको दिनमा र बेलुकाको समयमा धरहरा खुला राख्दा धरहरा चढ्न आउनेको संख्या बढ्ने अनुमान मन्त्रालयले गरेको छ। सर्वसाधारणले धरहरा खुल्ने समय कम भएको गुनासो गर्दै अलि बढी समय खुला गर्न र सार्वजनिक बिदाको दिनमा पनि बन्द नगर्न सुझाव दिँदै आएका थिए।

हालसम्म सात महिनाको अवधिमा धरहरा अवलोकनकर्ताहरूलाई टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६ सय ५० रूपैयाँ राजस्व संकलन भएको सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ। उक्त एकाइअन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ। धरहरा सञ्चालन भएयताको अवधिमा दुई लाख ३७ हजार ६५ जनाले धरहरा चढिसकेका छन्।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१ बमोजिम धरहरा सशुल्क सञ्चालनमा छ। असोजको पहिलो साताबाट धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो।

गत मंसिर ९ गतेदेखि सरकारले धरहरा चढ्न दुई सय रूपैयाँ शुल्क तोकेको छ। त्योभन्दा पहिले निःशुल्क धरहरा चढ्ने सुविधा उपलब्ध थियो। संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएको थियो।

धरहराको सञ्चालन र व्यवस्थापन संघीय सरकार आफैंले गर्ने निर्णय गत कात्तिकमै मन्त्रिपरिषद्को बैठकले गरेको थियो। एउटा निश्चित समयका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने व्यवस्थासमेत बैठकले गरेको छ। अहिले मन्त्रालयले धरहराको सञ्चालन तथा व्यवस्थापन गर्न १३ कर्मचारी खटाएको छ। धरहरा सञ्चालन गर्न साउन १ गतेदेखि कर्मचारीहरूले दुई सिफ्टमा काम गर्ने भएका छन्।

दमक भ्युटावर पनि सञ्चालनमा आउने

यसैगरी साउन १ गतेदेखि नै झापाको दमकस्थित भ्युटावर पनि सञ्चालनमा आउने भएको छ। त्यस दिनबाट व्यापारिक कम्प्लेक्स भ्युटावर सर्वसाधारणका लागि खुला गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भ्युटावर सञ्चालनमा ल्याउन लागिएको हो। ठेकेदार कम्पनीले गत २०८० पुसमै मन्त्रालयमातहतको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापालाई भ्युटावर हस्तान्तरण गरेको थियो। गत मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्युटावरको विधिवत् उद्घाटन गरेका थिए। उद्घाटन भएको पाँच वर्ष बित्दा पनि भ्युटावर व्यावसायिक तवरले सञ्चालन हुन सकेको थिएन।

भ्युटावर व्यावसायिक रूपमा सञ्चालन नभए पनि उक्त संरचनाको रेखदेख, बिजुली पानीलगायतका शीर्षकमा मासिक दुई लाख रूपैयाँभन्दा बढी राज्यको खर्च हुँदै आएको छ। दुई अर्ब रूपैयाँ खर्चेर बनाइएको दमक भ्यु टावर दमक बजारबाट करिब ६ किलोमिटर पश्चिममा छ। त्यसैले यसको व्यवस्थापन र सञ्चालन गर्न खर्चिलो हुने अनुमान गरिएको छ। बजारबाट टाढा भएकाले तत्काल त्यहाँ सपिङ मल, जिम हल, हस्पिटल, ब्युटिपार्लर राख्दा नाफामा जाने सम्भावना कम छ।

दमक भ्युटावर दमक नगरपालिकाका–३ मा करिब पाँच बिघा जग्गामा फैलिएको छ। २०७६ असार २७ गते एक अर्ब ५६ करोड १४ लाख ३९ हजारमा २०७८ असार २७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। तोकिएको समयमा काम सम्पन्न नभएपछि २०८० असार २७ गतेसम्मका लागि म्याद थप गरिएको थियो। त्यसपछि पनि काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरियो। दोस्रो पटक म्याद थप गर्दा १० करोड २७ लाख  ८१ हजार रूपैयाँ थप खर्च भई संशोधित सम्झौता एक अर्ब ६६ करोड ४२ लाख २० हजार रूपैयाँ पुगेको थियो।

सरकारले दमक भ्युटावर, बुटवल अन्तर्राष्ट्रिय सभाहल, गोदावरीस्थित सनराइज सभाहल, धरहरासहित ६ वटा विशिष्ट संचरना आफैं सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ। सरकारको निर्णयअुनसार यी संचरनाहरूको सञ्चालन र व्यवस्थापन मन्त्रालयमातहतको एउटै विकास समितिबाट हुने भएको छ।

दमक भ्युटावरसहित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सनराइज सभाहल, बुटवल अन्तर्राष्ट्रिय सभाहल, बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्न सहरी विकास मन्त्रालयका सचिवको अध्यक्षतामा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन गर्ने व्यवस्था गत मंसिर ३ गते प्रकाशित राजपत्रमा उल्लेख गरिएको थियो।

प्रकाशित: ३२ असार २०८२ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App