४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

हट्यो टहरा, बन्यो सुरक्षित घर

राप्तीसोनारी गाउँपालिका–५, बाँकेको वडा कार्यालयको आँगन आइतबार अपराह्न असाधारण उत्साह र भावनाले भरिएको थियो । घाम अलि मधुरो हुँदै जान थालेको बेलामा हल्का बतास चलिरहेको थियो, तर भिडभाडको माहोलले त्यो बतास पनि महसुस गर्न गाह्रो हुन्थ्यो । कार्यक्रम स्थलमा रङीचंगी पोसाकमा सिँगारी आएका लाभग्राही परिवार, स्थानीय जनप्रतिनिधि र गाउँका बासिन्दा खचाखच थिए । कतै हाँसोको आवाज गुन्जन्थ्यो, कतै भावुक संवाद भइरहेका थिए, अनि कतै भविष्यका योजनाहरूको चर्चा चलिरहेको थियो ।

विभिन्न वडाबाट आएका ३१ जना लाभग्राहीका अनुहारमा एउटै कुरा झल्किरहेको थियो, ‘एक नयाँ सुरुवातको उत्साह।’ केहीको आँखामा आशाको चमक थियो, केहीको आँखामा जीवनको कठिन अध्याय सम्झिँदा आँसु झरिरहेका थिए । सबैका हातमा चाबी र प्रमाणपत्र थियो, तर त्यो धातुको चाबी मात्र होइन, उनीहरूका लागि नयाँ जीवनको ढोका खोल्ने प्रतीक बनेको थियो । कार्यक्रम सुरु हुनुअघि नै केही लाभग्राहीहरू घरको नक्सा र भविष्यका योजनाबारे उत्साहित भएर कुरा गर्दै थिए । कोही नयाँ घरमा पहिलो रात कस्तो हुने हो भनेर कल्पना गरिरहेका थिए, कोही घरको आँगनमा बोट बिरुवा रोप्ने सपना बुनिरहेका थिए ।

यही भिडबिच वडा नम्बर ६ की आशा थारु आफ्नो प्रमाणपत्र काखमा अड्याएर उभिइन् । उनको अनुहारमा मुस्कान त थियो, तर स्वरमा विगतका सङ्घर्षको भारीपन झल्किरहेको थियो । ‘यो चाबी मात्र चाबी होइन, यो हाम्रो जीवनको नयाँ ढोका हो,’ उनले काँपेको स्वरमा भनिन् । उनले आफ्नो कथा सुनाउँदै थपिन्, ‘वर्षौँदेखि उनी र उनका परिवार एउटा सानो कच्ची घरमा बस्थे, जसको छानो वर्षामा चुहिन्थ्यो र हिउँदमा चिसोले कठ्यांग्रिन्थ्यो । हावा चल्दा छाना खटखट आवाज गर्दै उड्न खोज्थ्यो, अनि हरेक वर्षको मनसुन उनीहरूका लागि डर र चिन्ताको मौसम बन्थ्यो । ‘कहिलेकाहीँ त रातभर पानी पुछ्दै बस्नु पर्थ्यो, बच्चाहरूलाई कुन कुनामा सुताउने भनेर अलमल पर्थ्यो । अब त्यो चिन्ता सकियो,’ उनले गर्वको मुस्कानसहित भनिन् ।

यसपटक उनको घर पक्की इँटा, बलियो छाना र उज्यालो कोठासहित बनेको छ । उनको कल्पना छ, ‘घरको भान्साको ढोकाबाट बिहानको घाम पस्नेछ, छतमा बालबालिकाले खेल्नेछन्, अनि वर्षातमा उनीहरूलाई अब कहिल्यै भिज्नुपर्दैन ।’ वडा नम्बर ४ का दीपक सुनारले आफ्नो पुरानो टहराको कथा सुनाउँदा सबै मौन भए । ‘पहिले हावा चल्दा छाना उड्थ्यो, पानी पर्नासाथ भुईँमा पोखरी बन्थ्यो । अहिले यो नयाँ घरमा बच्चाहरूलाई पढाउन सकिन्छ, सरसफाइ गर्न सजिलो हुन्छ,’ उनले भने । वडा नम्बर ५ की निर्मा बस्नेत भन्छिन्, ‘अब हामी पाहुना बोलाउन सक्ने भयौँ। पहिले घरै लाजमर्दो थियो, अब गर्व गर्न मिल्नेछ ।’

उनीसँगै यहाँका विपन्न वर्गका व्यक्तिलाई अब घरमा बस्दा असुरक्षित महसुस भएको छ । गाउँपालिकाले यस्तै खाले ५२ घर निर्माण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा निर्माण गरेको विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरी आइतबार ३१ जनालाई हस्तान्तरण गरेको थियो । ती घर करिब एक करोड १६ लाख रुपैयाँको लागतमा बनेका थिए । सोमबार थप २१ जनालाई २१ जनालाई घर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए । २१ वटा घर ८८ लाख ८६ हजार ८२६ मा निर्माण भएका हुन् । ‘यो केवल घर होइन, यो सम्मान र सुरक्षा हो । हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ,’ उनले भने । उनका अनुसार गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ, ताकि गाउँका कुनै पनि नागरिकले छानाविहीन रात काट्न नपरोस् ।

गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारुले घरसँगै एक सुरक्षित र गरिमामय जीवन सुरु गर्ने आधार पनि दिएको बताइन् । अब यी परिवारलाई शिक्षा, स्वास्थ्य र आयआर्जनका अवसरतर्फ पनि अघि बढाउन अग्रसर हुने उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले यस योजनाको व्यवस्थापकीय पक्ष औँल्याउँदै भने, ‘गाउँपालिकाले बजेट मात्र नभई समयमै कार्यान्वयन गरेर परिणाम देखाउने यो एउटा सफल उदाहरण हो । यो कार्यक्रमले प्रत्यक्ष रुपमा ती परिवारको जीवनस्तरमा सुधार ल्याउनेछ ।’

घर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, स्थानीय अगुवा तथा लाभग्राहीका आफन्तहरू उपस्थित थिए । प्रत्येक लाभग्राहीलाई प्रमाणपत्र र चाबी हस्तान्तरण गर्दा उपस्थित भीडले ताली बजाएर स्वागत गर्थे । विशेषज्ञहरूका अनुसार आवाससँगै रोजगारीको अवसर, आधारभूत सेवा र समुदायमा समावेशीकरण भए मात्र यस्तो कार्यक्रमको दीर्घकालीन प्रभाव सुनिश्चित हुन्छ । गाउँपालिकाले आगामी वर्षमा यस्ता घरमा बगैँचा, पानी ट्याङ्की र घरपरिवारको आयआर्जनका लागि साना तालीम कार्यक्रम जोड्ने योजना बनाएको छ । राप्तीसोनारीको उक्त दिन केवल घरको चाबी हस्तान्तरण मात्र थिएन, ‘यो ३१ परिवारका लागि सुरक्षित भविष्यको ढोका खोल्ने क्षण थियो । आँसु, मुस्कान र तालीबिच बाँडिएका ती चाबीहरू अब नयाँ कथा लेख्नका लागि तयार छन् ।’

प्रकाशित: २६ श्रावण २०८२ १७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App