विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताइएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धित पत्रकार अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले मनसुन भित्रिनै लाग्दा विपद् प्रतिकार्य र पूर्व तयारीको कार्य चुस्त ढंगले अघि बढेको बताइन्। उनले विपद् जोखिमबाट मानिसहरूलाई बचाउनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भनाइ राखिन्। यस्तै, विपद्बाट बच्नका लागि पूर्व सूचना दिन पनि सञ्चार क्षेत्र निकै नै उपलब्धिपूर्ण भएको उनको जिकिर छ।
त्यसैगरी जल तथा मौसम विज्ञान विभागका सिनियर हाइड्रोलोजिष्ट विनोद पराजुलीले पनि बाढी आउनुपूर्व विभिन्न स्थानमा स्वचालित उपकरण जडान गरिएको जानकारी दिए। उनले नेपालमा बाढीजन्य विपद पूर्व अनुमान, पूर्व तयारी तथा नयूनीकरणका उपायहरूका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
पराजुलीले पछिल्लो समय मौसम पूर्वानुमान मिल्दा बाढी आउने चेतावनी समेत मिल्ने धेरै सम्भावना रहेको र विपद्का घटना कम गराउन सहयोग हुँदै आएको बताए।
डिपीनेट नेपालका अध्यक्ष बसन्तराज अधिकारीले विभिन्न विपद्का घटनामा गलत सुचना फैलिने हुँदा सजग र सचेत रहनुपर्ने सुझाव दिए। उनले पत्रकारहरूलाई विपद्का घटनाहरूको बारेमा जानकारी गराउदै विशेष गरी विपद्का बेला गलत सूचना प्रवाह गरी झनै विपद्मा परेका पिडितहरुलाई दुःख दिने र समस्यामा पारेका गलत सूचनाप्रति पत्रकारहरु सचेत हुनु पर्ने बताए।
पत्रकार तथा डिजेएनका सदस्य महानन्द तिमल्सिनाले विपदका विभित्र आयाम, प्रभाव, राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिगत पक्ष तथा पत्रकारले विपद्मा रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने पक्षका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए।
त्यसतै, डब्लुडब्लुजेका संस्थापक अध्यक्ष एवंम वरिष्ठ पत्रकार संगीता लामाले पनि विपद्मा रिपोर्टिङ गर्दा पत्रकारहर" सचेत हुनु पर्ने बताइन्। विपद्का कतिपय घटनाहरूलाई सामाजिक सञ्जालमा गलत रूपमा प्रयोग गर्ने भएको हुँदा यस्ता सम्वेदशील विषयमा संचार क्षेत्र तथा पत्रकारहरू सचेत भइ कलम चलाउनु पर्नेमा जोड दिइन्।
त्यसैगरी कार्यक्रममा डीजेएनका अध्यक्ष अमिका राजथलाले लैंगिकता र विपद् सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विपद्मा विशेष गरी महिला, बालबालिका, वृद्धवृद्धालाई विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरिन्। विपद्का घटनामा महिला बढी जोखिममा पर्ने हुँदा यस्ता घटनाबाट बच्नकोलागि पत्रकारहरूले आफ्ना कलम मार्फत सूचनादेखि टाढा रहेका जनताहरुलाई सुसूचीत गर्नुपर्नेमा जोड दिइन्।
डीजेएनका कोषाध्यक्ष शोभा मानन्धरले संस्थागत चिनारी र स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सहजीकरण सचिव देवी सापकोटाले गरेकी हुन्।
बर्सेनि विपद्का घटनाबाट एक हजारभन्दा बढी मानिसहरूको ज्यान जाने भन्दै सरोकारवालाहरूले यस विषयमा सम्बन्धित निकाय तथा पत्रकारहरू गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।
सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा विपद् पत्रकारिता सञ्जाल डीजेएनद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो।
प्रकाशित: ५ असार २०८३ ०७:२८ शुक्रबार




-600x400.jpg)
