१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

आयुक्त भण्डारीको निर्देशन: नियम उल्लङ्घन गरे उम्मेदवारको मनोनयन रद्द गर्नू

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता अपनाउने बताएका छन्।

सोमबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले संविधानको संरक्षण गर्न, मुलुकलाई लयमा ल्याउन र सुशासन प्रवाह गर्न निर्वाचनको विकल्प नभएको भन्दै आयोग अब पूर्ण रूपमा निर्वाचन प्रक्रिया कार्यान्वयनमा होमिएको बताए।

भण्डारीले यसपटक सजायमुखी आचारसंहिता ल्याइएको भन्दै कार्यान्वयनमा कुनै सम्झौता नहुने चेतावनी दिए। उनले भने, ‘आचारसंहिता कार्यान्वयनमा आयोगले शून्य सहनशीलता लिन्छ। उल्लङ्घन भएको प्रमाण भेटिए उम्मेदवारको मनोनयन पत्र खारेज गर्नेसम्मको अधिकार तपाईंहरूलाई छ।’

उनले निर्वाचन अधिकृतहरूलाई प्राप्त अधिकार प्रयोग गर्न नहिचकिचाउन र आफैं निर्णय गर्न नसके तत्काल आयोगमा सिफारिस गर्न निर्देशन दिए।

साथै, निर्वाचन पर्यवेक्षकहरूको गतिविधिलाई समेत सुक्ष्म निगरानी गर्न र क्षेत्राधिकार बाहिर गएर काम गरे कारबाही गर्न उनले आग्रह गरे।

आयोगले राष्ट्रिय सभाका १८ सदस्य र प्रतिनिधि सभाका २७५ सदस्यका लागि एकसाथ निर्वाचन गराउन लागेको जानकारी दिँदै भण्डारीले सुरक्षा व्यवस्था मिलाउन सरकार तयार रहेको बताए।

निर्वाचनमा करिब साढे ५ लाख जनशक्ति परिचालन हुने र सरकार तथा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षाको पूर्ण प्रत्याभूति दिएको उनले उल्लेख गरे।

यद्यपि, २०७९ सालको निर्वाचनमा गरिएको सुरक्षा जोखिमको विश्लेषण कतिपय ठाउँमा नमिलेको अनुभव सुनाउँदै उनले यसपटक बिथोलिएको सामाजिक परिवेशलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिए।

न्यायकर्मीहरूले दबाबरहित ढङ्गले निर्वाचन सम्पन्न गराउन सक्छन् भन्ने विश्वासका साथ जिम्मेवारी दिइएको भन्दै भण्डारीले निर्वाचनसम्बन्धी विवाद र उजुरीहरूलाई समयमै किनारा लगाउन आग्रह गरे।

‘हिजो ६ महिनाभित्र मुद्दा टुङ्ग्याउने अभ्यास थियो, अहिले प्रक्रिया केही सुस्त देखिएको छ। तर निर्वाचनका विवादलाई समयमै सम्बोधन गरेर निष्कर्षमा पुर्‍याइदिनुहोला,’ उनले भने।

भण्डारीले निर्वाचन सम्पन्न गराउनु राष्ट्रिय दायित्व भएको भन्दै कानुन प्रतिकूल काम गर्ने जो कोहीलाई अनदेखा गर्ने छुट कसैलाई नभएको प्रस्ट पारे।

प्रकाशित: २८ पुस २०८२ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App