४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङमा सापुको समस्या बढ्दो, सेतो पुतलीको संसर्गबाट टाढै रहन विज्ञको सल्लाह

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका बसन्त लिम्बूको आँखा अचानक रातो हुने र चिप्रा लाग्ने हुन थाल्यो। आँखामा सामान्य दुखाई सुरु हुने तथा क्रमशःआँखा हेर्न समस्या हुन थालेपछि उनले लागो लगानको विश्वासमा धामी झाँक्री समेत लगाए। तर पनि आँखा ठीक भएन।

धामी झाँक्रीको बलमा समेत उनको आँखाको समस्या निदान नभएपछि उनी आँखा देखाउन नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र आए। दसैँ बिदा सुरु भए पनि आँखाको अवस्था नियाल्दा परीक्षण अनिवार्य रहेको जस्तो देखेपछि डिचेन डोङ्गलाका वरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले लिम्बूलाई आकस्मिक सेवा दिँदै आँखाको परीक्षण गरे। परीक्षणका क्रममा सेतो पुतलीको झुसबाट लाग्ने सापु रोगको संक्रमण पुष्टी भयो।

आँखामा देखिएको उक्त समस्या समाधानका लागि आँखाको थप उपचार आवश्यक रहेको देखेपछि वरिष्ठ नेत्र अधिकृत गुरुङले लिम्बूलाई मेची आँखा अस्पताल रेफर गरे। ‘उपचारमा ढिलो गरी आउँदा यसले ठूलो समस्या निम्त्याउँछ,’ लिम्बूको आँखामा आफूले अझै जोखिम देखेको बताउँदै गुरुङ भन्छन्।

गुरुङका अनुसार सेतो पुतलीको झुसका कारण आँखाको समस्या लिएर उपचारमा आउने लिम्बू एक्ला होइनन्। औसतमा दैनिक ६०–७० जनासम्म आँखाको परीक्षणका लागि आउने डिचेन डोङ्गलामा अहिले औसतमा ४ देखि ५ जना सेतो पुतलीको संक्रमणबाट समस्या भएको लिएर आउने सेवाग्राही रहने गरेको गुरुङले जानकारी दिए। सेतो पुतलीको सङ्क्रमणबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ।

सापुको पूरा रूप सिजनल हाइपरएक्युट प्यानुभाइटिस हो। यो आँखामा हुने एक प्रकारको संक्रमण हो, जसले दृष्टी गुम्ने जोखिम निम्याउन सक्छ। सबै सेतो पुतली हानिकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबे बताउँछन्। उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र द्रुतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ।

सापुको लक्षण देखिएको ४८ देखि ७२ घण्टाभित्रमा आँखाको उपचार नभए रोगीको आँखाको दृष्टी गुम्ने सम्भावना अधिक रहने वरिष्ठ नेत्र अधिकृतले जानकारी दिए। धेरै उज्यालो सेतो बत्ती सेतो पुतलीले मन पराउने भएकाले यस्तो ठाउँमा जोखिम बढी हुने गुरुङले बताए।

नेपालका मध्य पहाडी तथा हिमाली जिल्लाका अलावा तराईका केही जिल्लाहरूमा समेत सेतो पुतलीको संक्रमणबाट देखिने सापु रोग देखिने गरेको उनको भनाइ रहेको छ। उनले सेतो पुतलीको संसर्गबाट टाढै रहन, धेरै उज्लालो सेतो बत्ती नबाल्न, साँझ र राति झ्याल ढोका बन्द गर्न, सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्न, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर वा सुतेको ठाउँमा सेतो पुतली नछिर्ने झुलको प्रयोग गर्न र उसित्तका झाडीहरूको संसर्गबाट टाढै रहन समेत सल्लाह दिएका छन्।

पुतली समात्ने र आँखा तथा निधारमा दल्ने कामले सापुको संक्रमण जोखिमपूर्ण बनाउने भएकोले गुरुङले यो काम गर्न नहुने बताए।

प्रकाशित: १७ आश्विन २०८२ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App