पूर्वपश्चिम राजमार्गबाट मुस्किलले पाँच सय मिटर दक्षिण गएपछि आउँछ गोलबजार नगरपालिका ८ मुसहरी टोल। बाँसको खम्बामा अड्याइएको सानो छाप्रोमा एकातिर परालको बेरा अर्कातिर चिथ्रा परेका कपडा छन्। चिसो भुइँमा बिछ्याइएको परालको डसना छ। त्यसमाथि ओछ्याइएको छ पातलो चिथ्रा परेको सुकुल।
नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने छ। गोलबजार नगरपालिका ८ मुसहरी टोलका रामविलासा सदायको घरको दृश्य हो यो। यही छाप्रोमा चार छोराछोरीसहित उनी बस्छन्। एक सातादेखि चलेको शीतलहरले उनको परिवारका सदस्य कठ्यांग्रिएका छन्।
पश्चिमी हावासँगै शीतलहरका कारण थरथर काँप्दै छाप्रोबाहिर बसिरहेका उनलाई बाहिर किन बस्नुभएको भनेर सोध्दा जवाफ आयो, ‘भितर स आराम त बाहरेमे बुझाइछै, भुँइया, लार, चेथरा सबटा कनकन छै (भित्रभन्दा बाहिरै न्यायो मसहसुस भइरहेको छ, घरभित्र भुँइ, ओछ्याएको पराल, ओढ्ने चिथ्रा परेको कपडा सबै चिसिएको छ)।’
छाप्रोमा चारैतिरबाट हावा छिर्छ। जसका कारण सबै थोक चिसिन्छ। रातभर चिसोका कारण उनी निदाउन सक्दैनन्। मागेर ल्याएको पराल ओछ्याउने कि बालेर ताप्ने उनलाई समस्या छ। अहिलेसम्म स्थानीय सरकारले आगो ताप्न दाउरा दिएको छ न ओढ्न न्याना कम्बल नै।
उनले भने, ‘हमरा जेहेन गरिब सबके दुःख देखैबाला कोइ नै छै, भगवान भरोसे जियल छियै। लगैयई पछिया हावा जान लए क छोड्तै ( हामी जस्ता गरिबको पीडा हेर्ने कोही छैनन्, भगवान् भरोसा बाँचेको छुँ। लाग्छ यो पछिया हावाले ज्यान लिएरै छोड्छ)।’
यो पीडा रामविलासको मात्र नभई यहाँका २० घर मुसहर परिवारका सबैको हो। रामविलास जस्तै बस्तीका सबै भगवान् भरोसा शीतलहर काटिरहेका छन्। गोलबजार–११ बलकवानजिक मैनावती पुलमुनि लहरै सुकुमवासी मुसहरका ४० छाप्रा छन्। एउटामा बस्छिन्– सुमित्रा सदा। चिथ्रा परेको सारीले छाप्रो बेरेर पश्चिमी हावाको सिरेटो छेक्दै दिनरात काटिरहेकी सुमित्रा भन्छिन्, ‘लगैईय पछिया हावा जानलए क छोड्तै (यो पछिया हावाले ज्यान लिएरै छोड्छ जस्तो छ)।’
राति पर्ने शीतले परालले छाएको छाप्रो भिज्छ। बिहान त्यो शीतको थोपा ओछ्यानमा चुहिन्छ । ज्यान तताउने लुगाजति सबै भिज्छन् । सुत्ने परालको ओछ्यान चिसिन्छ। ‘जेनतेन भगवान् भरोसे जान बचल छै (जसोतसो भगवान् भरोसा ज्यान जोगिएको छ)’ उनी भन्छिन्, ‘हमर सबके सहारा भगवान्बाहेक कोई नै भेल (भगवान्बाहेक हाम्रो सहारा को हीभएन )।’
गोलबजार–१० मुसहरी टोलकी ४० वर्षीया कुन्ती सदाको व्यथा पनि सुमित्राको भन्दा कम दर्दनाक छैन। उनी घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउँछिन्। राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरि घाममा न्यानो पारेर राति फेरि बिछ्याउनु उनको हिउँदको दैनिकी हो। ‘घरमे सरकार एला पर जाड स गरिबके नै कठुवाई परतै कहैछेलै, सब झुठेके प्रचार छेलै (दैलोमै सरकार आएपछि गरिबले कठ्यांग्रिएर सास्ती खेप्नुपर्दैन भन्थे, सब झुटो प्रचार रहेछ)’, कुन्तीले भनिन्, ‘गरिबके सहारा दैबाला सरकार कतौने छै, घरमे सरकार एलो पर हमरा सबके देह आ बिछौना गरम नै भैलै (गरिबलाई सहारा दिने सरकार कतै छैन, दैलोमै सरकार आए पनि गरिबका लागि न्यायो आएन)।’
सिरहाकै मिर्चैया नगरपालिका–७ स्थित तात्रीबारीकी शोभा सदाका लागि पनि शीतलहर कम्ता कष्टकर छैन। शरीर न्यानो पार्न न उनीसँग कम्बल छ न न्यानो कपडा नै । वर्षौं पहिले राहतमा पाएको कम्बलमा समेत भ्वाङ परिसकेको छ। त्यसमै बेरिएर शीतलहर काट्दै छन् उनी। शोभाजस्तै यहाँका १५ परिवार सुकुमवासीको अवस्था शीतलहरले बेहाल छ।
मिर्चैया नगरपालिका–६ स्थित जिवा मगरटोल र भोटिया टोलका भूमिहीन तथा विपन्न मुसहर समुदायका करिब ३० घरपरिवार त्रिपालको भरमा छन्। बस्तीका ४५ वर्षीय विजय सदायको ६ जनाको परिवार त्रिपालमुनि पछिया (पश्चिमी) हावाको सिटेरोले काँप्दै गरेको अवस्थामा देखिए।
उनले भने, ‘जनता आवसका नाममा पक्की घर बनाइदिन्छु भनेर फुसको छाप्रो पनि भत्काइदिएपछि हामी घर न घाटका भएका छौं। अहिलेसम्म न घर बनाइदिए न हामीलाई सुरक्षित बासको व्यवस्था गरिदिए। घर बन्ला नबन्ला तर यो शीतलहरले ज्यानै लेला जस्तो छ। हिलेसम्म भगवान्ले बचाइदिएको छ। सरकार त हाम्रा लागि नाम मात्रको रहेछ। गरिबका लागि सरकार छ भन्थे सब झुट रहेछ।’
एक सातादेखि चलेको शीतलहर र पश्चिमी हावाका कारण मधेसको मौसम चिसिएको छ। चिसो पछिया हावा र शीतलहरले शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेलाई यसले असर नपारे पनि हुँदा खाने सुकुमवासी र विपन्न समुदाय मारमा परेका छन्। बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुमवासीको चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्न हैसियत छैन । चिसो बढेपछि विपन्न बस्ती राति निदाउँदैन। ‘जाड बढ्ला पर राइतमे निन नै होइछै, लार पजाइर क आइगतापु त भँइयामे बिछाउब कथी (शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने)
प्रकाशित: १७ पुस २०८२ ०६:२७ बिहीबार





