८९ वर्षीय गगनसिंह ओली बिहान झ्यालबाट बाहिर हेर्छन् । घर छेउमै फराकिलो पक्की सडक गुडेका मोटरसाइकल र अटो देख्दा उनी प्रफुल्लित हुन्छन् । यो उनीका लागि सपना जस्तै हो । तर, यसै झ्यालबाट बाहिर हेर्दै उनले पाँच दशकअघिको उही ठाउँ सम्झिन्छन्, ‘जहाँ बाटो थिएन, केवल हिलो, धुलो र बाध्यता मात्र थियो ।’
गगनसिंह एउटै पुस्ताका साक्षी हुन्, जसले हटारु हिँड्ने बाध्यता पनि भोगे र अहिले पक्की सडकको सहजता पनि देखे । पाँच दशकअघि उनी यतै खडकवारमा आएका थिए, सल्यानको निगालपानी छाडेर । त्यति बेला यो गाउँ सुनसान थियो, घरका संख्या गनिन्थे, बाटोको अवस्था झन् दयनीय । नेपालगन्ज जाने वा फर्कने बाटोमा पैदल यात्रुहरूको दुःख झन् असह्य हुन्थ्यो । बर्खामा कम्मरसम्म हिलो, सुख्खा समयमा नाकमुख बन्द हुने गरी धुलो, अनि बिचबिचमा खाल्डाखुल्डीले भरिएको बाटो । सामान बोकेर हिँड्नुपर्ने बाध्यता त थियो नै, तर त्यो यात्रा जीवनको अनिवार्य अंश बनेको थियो ।
गगनसिंहका लागि हाट आउनु केवल व्यापार वा किनमेलको कुरा थिएन, त्यो त सङ्घर्षको अर्को नाम थियो । सल्यानबाट खडकवार आइपुग्नै दुई दिन लाग्थ्यो । त्यसपछि अर्को दिन नेपालगन्ज पुगेर सामान बोकेर फर्किनु पथ्र्यो । कहिलेकाहीँ बाटैमा थाकेर सुस्ताउनुपर्ने, कहिलेकसो भारीको कारण लडे पनि उठ्नुपर्ने अवस्था हुन्थ्यो । ‘नआइ रहन मिल्दैनथ्यो, आउन भने मन लाग्दैनथ्यो,’ उनी भन्छन् । यही वाक्यमा उनका ती दिनहरूको सम्पूर्ण पीडा मिसिएको छ ।
अहिले भने त्यही खडकवारको स्वरूप फेरिएको छ । कोहलपुर–१२ चप्परगौडीबाट जोडिएको पक्की सडक उत्तरतर्फ लहरिँदै आएको छ र गगनसिंहको घर छेउसम्म आइपुगेको छ । अटो, मोटरसाइकल वा ट्याक्टर गाउँमै आउन थालेका छन् । आवश्यक सामानका लागि हटारु हिँड्नु पर्दैन, बजार नै गाउँमा आइपुगेको जस्तो सहजता छ । बिरामी परे अटोमै तुरुन्तै अस्पताल पु¥याउन सकिन्छ । गगनसिंह अहिले पनि अचम्म मान्छन्, ‘एउटै जीवनमा यस्तो दुई अवस्था देख्न पाइयो भनेर ।’ उनले देखेका छन्, एउटै बाटोमा एक पटक दुःखको पदचाप थियो, अहिले सहजताको गडगडाहट छ । एउटै ठाउँमा कहिल्यै नसमाप्त हुने बाध्यता थियो, अहिले सुविधा र सम्भावना भेटिन्छ । उनी भन्छन्, ‘यो परिवर्तन त सपना जस्तै लाग्छ । हटारु हिँड्ने दिन देखियो, अटो घरमै आइपुग्ने दिन पनि देखियो । यही हो जिन्दगीको ठूलो फल ।’
उनका आँखामा सडक मात्र देखिँदैन, त्यससँगै आफ्नो जीवनयात्रा पनि देखिन्छ । जसमा दुःख छ, संघर्ष छ, अनि अहिले सहजता र विकासको आनन्द छ । यही अन्तरालले खडकवारलाई मात्र होइन, गगनसिंहको सम्पूर्ण पुस्तालाई दुई युगका प्रत्यक्ष साक्षी बनाइदिएको छ । गाउँको मुहार फेरिएको कुरा स्थानीय गंगराम डाँगी पनि स्विकार्छन् । उनी भन्छन्, ‘पहिले गाउँ आउनै डर लाग्थ्यो। अहिले त सजिलै गाडीमा चढेर आउन जान मिल्छ ।’ अर्का स्थानीय रामबहादुर ओली थप्छन्, ‘सडक बनेपछि गाउँ मात्रै होइन, हाम्रो जीवनशैली नै बदलिएको छ ।’
खडकवारको यस रूपान्तरणले गाउँलेहरूको जीवनमा ठूलो प्रभाव पारेको छ । पहिले बाटोको पीडाले गाँस, बास र व्यापार सबै प्रभावित हुन्थ्यो । अहिले भने सहज यातायातले गाउँलाई बजारसँग जोडिदिएको छ । स्थानीय उत्पादन सहजै बजारसम्म पुग्छन् भने आवश्यक सामग्री पनि घरमै ल्याउन सकिन्छ । जुन सडक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलले दुई करोड ८३ लाख २५ हजार सात सय ४४ रुपैयाँमा यो सडक निर्माण गरेको हो ।
गगनसिंह ओलीजस्ता पुराना बासिन्दा यो विकासलाई सपना ठान्छन् । उनले आफ्नै जीवनको तुलना गर्दै भन्छन्, ‘हटारु हिँडेर हिँड्ने दिन देखेँ, र अहिले अटो घरमै आउने दिन देख्दैछुँ । यही हो जीवनको ठूलो परिवर्तन ।’ खडकवारको यो रूपान्तरण केवल सडक निर्माणको कथा मात्र होइन, यो पुरानो पुस्ताको कठिनाइ र नयाँ पुस्ताको सहजताबिचको पुल हो । गाउँको अनुहार मात्र होइन, गाउँलेहरूको भविष्य पनि बदलिएको छ । चप्परगौडीबाट करिब पाँच किलोमिटरको दुरीमा छ खड्कवार । यहाँको विकास यतिमै रोकिने देखिँदैन । यो सम्भावना बोकेको एउटा सुन्दर गाउँ हो ।
बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार खड्कवारमै फैलिएको छ, जसले यस गाउँलाई पर्यटकीय दृष्टिले विशेष बनाएको छ । सानाठूला हात्तीका गतिविधि र प्राकृतिक सुन्दरताले पर्यटकको आकर्षण बढाउँछ । यही गाउँ कोहलपुर–घुइँयाबारी–सल्यान सडक खण्डको मुख्य हिस्सा हो, जसले यस क्षेत्रलाई प्रदेशका अन्य जिल्लासँग जोड्ने महŒवपूर्ण मार्गको रूपमा चिनाउँछ । यदि यो सडक पूरा निर्माण भयो भने सल्यानसम्म पुग्ने यात्रा सहज, छिटो र सुरक्षित हुनेछ । खड्कवारबाट करिब ११ किलोमिटरको दुरीमा पर्ने घुइँयाबारी सल्यान जिल्लामा पर्छ । यद्यपि सल्यानतर्फ घुइँयाबारीसम्म सडक पुगिसकेको छ, तर खड्कवार–घुइँयाबारी खण्ड अझै अपूर्ण छ । यसैले स्थानीय बासिन्दा लामो समयदेखि सडक निर्माणको माग गर्दै आएका छन् ।
स्थानीयहरूको दृष्टिमा, यो सडक केवल यातायातको सुविधा मात्र होइन, गाउँको आर्थिक र सामाजिक मेरुदण्ड हो । ‘सडक बनेपछि गाउँको उत्पादन बजारसम्म सजिलै पुग्नेछ, विद्यार्थी र बिरामीलाई अस्पतालसम्म छिटो पुग्न सकिनेछ,’ स्थानीय रामबहादुर ओली भन्छन् । सडक निर्माणले खड्कवार र सल्यानबीचको दुरीलाई भौतिक मात्र होइन, आर्थिक र सांस्कृतिक हिसाबले पनि नजिक ल्याउने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाका अनुसार, ‘यो सडक हाम्रो जीवनशैली नै बदल्ने बाटो हो । यसले पर्यटन र व्यापार दुवैलाई फाइदा पु¥याउनेछ ।’ यसरी खड्कवार–घुइँयाबारी सडक खण्ड न केवल यातायातको लागि महŒवपूर्ण छ, तर स्थानीय जीवनस्तर, रोजगारका अवसर र पर्यटकीय सम्भावनाका लागि पनि जीवनरेखा बन्ने सम्भावना बोकेको छ ।
प्रकाशित: ५ भाद्र २०८२ १७:०१ बिहीबार


-600x400.jpg)


