१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

‘दलले यातायात व्यवसायीलाई प्रयोग मात्र गरे, अब त्यस्तो हुँदैन’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँरले आगामी चुनावमा यातायात व्यवसायीका एजेण्डा समेट्न दवाब दिने बताएका छन् ।  

पोखराको स्थानीय यातायात प्रालिको छैटौं साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले यातायात व्यवसायीलाई प्रयोग गरेर राजनीतिक दलहरुले दुनो सोझ्याएको तर यातायात व्यवसायीका समस्या समाधान नगरेको बताए । अब आगामी निर्वाचनमा पहिल्यै एजेण्डा बनाउन दवाब दिने उनले बताए ।  

‘हरेक व्यक्ति पार्टीमा जाने र उम्मेदवार बन्ने कुरा पनि हुँदैन र त्यो सम्भव पनि छैन’, उनले भने, ‘त्यसैले हामी हरेक पार्टीको घोषणा पत्रमा हाम्रो एजेण्डा राख्न दवाब दिन्छौं ।’  

उनले जनताको भीड हेरेर नभई कानूनी रुपमा, नीतिगत रुपमा सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिनुपर्ने बताए । दलहरुले यातायात क्षेत्रलाई व्यवस्थापनका रुपमा मात्र हेरेको तर व्यवसायीक बनाउन भने नसोंचेको उनको आरोप थियो ।

महासंघका प्रथम बरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले आगामी चुनावमा दलहरुले यातायात क्षेत्रलाई नजरअन्दाज गरे त्यसको परिणाम नराम्रो हुने चेतावनी दिए । सम्बन्धित क्षेत्रको व्यक्ति उच्च ओहोदामा पुगेमात्र सो क्षेत्र सबलीकरण हुने भएकाले पार्टी र सरकारमा यातायात क्षेत्रकालाई पनि समेट्नुपर्ने भन्दै उनले भने,‘आगामी चुनावमा पनि हाम्रो यातायात क्षेत्रकालाई दलहरुले उम्मेदवार बनाउनु पर्छ । यदि नजरअन्दाज गरियो भने हामी देखाईदिन्छौं ।’  

महासंघका द्वितीय बरिष्ठ उपाध्यक्ष तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार साईले महासंघका नेताहरु कुर्सीका लागि मरिहत्ते गर्ने तर सार्वजनिक यातायातका समस्या समाधानमा भने गम्भीर नहुँदा समस्या ज्यूँका त्यूँ रहेको आरोप लगाए ।  

स्थानीय यातायात प्रालिका अध्यक्ष केदार पौडेलले सार्वजनिक यातायात ऐन नया नआउँदा यातायात व्यवसायीले सास्ती भोग्नुपरेको गुनासो गरे ।  

 

प्रकाशित: १२ मंसिर २०८२ १९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App