२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

भ्रष्टाचार निवारणको एउटै औषधि ध्यान रहेकाे शिक्षामन्त्री पुनकाे भनाइ

पुसको चिसो बिहानीपछि झुल्किएको पारिलो घामले खुला चौर स्पर्श गरिरहेको छ। वरिपरि वृक्षले घरिएको त्यस चौरमा विभिन्न ध्यान केन्द्रबाट आएका योगका गुरुहरूले ध्यान गराइरहनुभएको छ भने साधकसाधिका ध्यानमग्न छन्।

यो परिदृश्य ‘विश्व शान्ति र सद्भावका लागि ध्यान’ भन्ने मूल नाराका साथ दोस्रो विश्व ध्यान दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रमको हो। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राज्यका निकायमा पुगेकाहरूको मन लोभी, महत्वाकांक्षी र भ्रष्ट भएकाले मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताएका छन्।

भ्रष्टाचार निमिट्यान्न पार्नका लागि अहिलेसम्म कुनै औषधी नबनेको र यसको निवारणका लागि एक मात्र मात्र औषधी योग, प्राणायाम र ध्यान रहेको मन्त्री पुनको भनाइ छ। उनले भने, ‘भ्रष्टाचारी रोगको उपचार गर्न सक्ने अहिलसम्म कुनै औषधि बनेको छैन। त्यसको एक मात्र औषधी हो योग, प्राणायाम र ध्यान। यसैले मात्र भ्रष्टाचारी मनको उपचार हुन्छ।’

योग ध्यान पढाउने होइन, गराउने हो भन्दै मन्त्री पुनले विद्यालय तहमा योग ध्यानलाई कार्यान्वयनमा ल्याउन कार्ययोजना तथा नीति निर्माण गर्न मन्त्रालयलाई निर्देशन दिइसकेको पनि बताए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले असन्तुलित जीवनयापनका कारण पछिल्लो समय गम्भीर खालका क्यान्सरलगायत संक्रामक रोग फैलिरहेकाले तिनको निवारणका लागि आयुर्वेदीय चिकित्सा उपचार पद्धति मुलुकभर सञ्चालन भइरहेको बताइन्। यसलाई थप प्रभावकारी तुल्याउन योग, प्राणायाम र ध्यानलाई जीवन पद्धतिका रूपमा अवलम्बन गर्न अत्यावश्यक भइसकेको उनको भनाइ छ।

ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले परमात्माले हामीलाई संसारभर योग ध्यान फैलाउने जिम्मेवारी दिएकाले सोहीअनुरूप हामीले संसारका मानिसलाई योग ध्यानमा जोडिरहेको बताए। हामीलाई भगवान् गौतमबुद्धले जुन ध्यान विधि दिएर जानुभएको छ, त्यसलाई जीवनमा अपनाएर अस्तव्यस्त जीवनलाई सन्तुलन बनाउन उनले अनुरोध गरे।

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले शान्ति, आरोग्य र साझा समृद्धिका लागि ध्यानलाई विश्वव्यापी क्षमता निर्माण गर्ने साधनका रूपमा स्वीकार गर्ने समय आएको बताएका छन्।

अमेरिकाबाट भर्चुअल सन्देश दिँदै  जीवन विज्ञान संस्थापक शर्माले प्राचीन ध्यान परम्परा र ज्ञानको सन्देशलाई अन्तर्राष्ट्रिय मञ्चमार्फत नेपालले संसारभर पुर्‍याउने अवसर पाएको बताए। उनी भन्छन्, ‘मानव मनमा शान्ति प्रशिक्षित नगरी संसारमा शान्ति दिगो सक्दैन किनभने सबैभन्दा बढी अशान्त मानव मन छ। युद्धहरू सीमामा नभई सबैभन्दा पहिला मानव मनमा भइरहेको हुन्छ।’

यस अवसरमा जीवन विज्ञान, ओमशान्ति, ओशो तपोवन, आर्ट अफ लिभिङ, मनोक्रान्ति, रेकी लगायतका योग ध्यानका संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी विश्व ध्यान दिवस मनाए। सामूहिक रूपमा गरिएको ध्यानले परिवार, समाज, देश र विश्वमा शान्ति र सद्भावको ऊर्जा प्रवाह हुने भएकाले उनीहरूले कार्यक्रम गरेका हुन्। विश्व ध्यान दिवसका अवसरमा जीवन विज्ञानले पशुपतिनाथमा साँझ बागमती गंगा आरती, स्वजागरण ध्यान र १००८ दीप प्रज्ज्वलन गरेको थियो। २१ डिसेम्बर २०२५ मा विश्व ध्यान दिवस मनाइन्छ।

प्रकाशित: ७ पुस २०८२ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App