नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार एक विशेष बुलेटिन जारी गर्दै पश्चिमी क्षेत्रका धेरै स्थानबाट मनसुन बाहिरिएको जनाएको हो। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको बुलेटिनमा उल्लेख छ।
मुलुकको मध्य तथा पूर्वी क्षेत्रमा अहिले पनि मनसुनको प्रभाव कायम रहेको जनाउँदै महाशाखाले सतर्क रहन भने सबैमा अपिल गरेको छ । लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भूभाग तथा मधेस र कोशी प्रदेशका पूरै क्षेत्रमा मनसुनको प्रभाव कायम रहेको महाशाखाको भनाइ छ।

मौसमविद्का अनुसार, पश्चिमबाट सुरु भएर विस्तारै पूर्वबाट हटेर जाने मनसुनी प्रणाली अब कति दिनमा बाहिरिन्छ भन्ने यकिन भने भइसकेको छैन । सामान्यतयः नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो, तर पछिल्ला केही वर्ष नेपालमा मनसुनी प्रणालीको समयावधी बढेको छ ।
औसत मितिभन्दा केही दिन ढिला गरी मनसुन नेपालबाट हट्न थालेको हो। यसवर्ष मनसुन औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ मै नेपाल प्रवेश गरेको थियो। गत वर्ष मनसुन पूर्णरुपमा अक्टोबर १२ तारिखमा बाहिरिएको थियो। मनसुन बाहिरिएपछि पश्चिमी वायुको प्रभाव सुरु हुने र यसले विस्तारै चिसो बढाउने मौसमविद्हरुको भनाइ छ।
यसैबीच, सोमबार राति कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। पश्चिमबाट मनसुनी प्रणाली बाहिरिएपनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यो क्रम बुधबारसम्म नै कायम रहने र पहाडी र तराईका केही स्थानमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: २० आश्विन २०८२ १६:०७ सोमबार





