२० वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

सीमामा कडाइपछि बदलियो बजारको सन्तुलन

रुपैडिया सुनसान–नेपालगन्जमा चहलपहल

नेपाली उपभोक्ता नपाउँदा सुनसान बनेको सीमावर्ती भारतीय बजार रुपैडिया ।

नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा पछिल्लो समय कडाइ बढाइएपछि भारतीय सीमावर्ती बजार रुपैडियाको चहलपहल एकाएक घटेको छ। पहिले नेपाली उपभोक्ताको बाक्लो भीड लाग्ने रुपैडिया बजार अहिले प्रायः सुनसान देखिन थालेको छ भने यसको प्रत्यक्ष प्रभाव नेपालगन्ज बजारमा देखिन थालेको छ।

दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स तथा खाद्यान्न खरिदका लागि नेपाली उपभोक्ता सहज पहुँच र सस्तो मूल्यका कारण रुपैडिया पुग्ने गरेका थिए। विशेषगरी जमुनाहा नाका खुला र सहज हुँदा दिनहुँ सयौँको संख्यामा उपभोक्ता सीमा पार गरेर किनमेल गर्न जाने क्रम सामान्यजस्तै बनेको थियो। तर पछिल्लो समय सुरक्षा जाँच कडा बनाइनुका साथै आवतजावतमा निगरानी बढाइएपछि यस्तो प्रवृत्तिमा उल्लेख्य गिरावट आएको छ।

स्थानीय व्यवसायीहरूका अनुसार रुपैडिया बजारको व्यापारिक गतिविधि करिब ८० प्रतिशतले घटेको छ। सीमामा कडाइ हुनु अघि बिहानैदेखि बेलुकासम्म नेपाली ग्राहकको भीड लाग्ने पसलहरू अहिले ग्राहक अभावमा सुनसान देखिन थालेका छन्।

एक भारतीय व्यापारीले गुनासो गर्दै भने, ‘पहिले नेपाली ग्राहक नै हाम्रो मुख्य आधार थिए, अहिले त दिनभरि पसलमा बस्दा पनि खासै व्यापार हुँदैन।’

यता, यसको सकारात्मक प्रभाव भने नेपालगन्ज बजारमा देखिएको छ। लामो समयदेखि भारतीय बजारसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेका नेपालगन्जका व्यापारीहरू अहिले केही राहत महसुस गर्न थालेका छन्। बजारमा उपभोक्ताको चाप बढेसँगै व्यापार पनि बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन्।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले भने, ‘पहिले ग्राहकहरू सस्तोको लोभमा रुपैडिया जान्थे, अहिले सीमामा कडाइ भएपछि उनीहरू यहीँ किनमेल गर्न थालेका छन्। यसले स्थानीय व्यापारलाई ठूलो राहत दिएको छ।’

सरकारले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्ने नियम कार्यान्वयन गर्न थालेपछि नेपाली उपभोक्ता रुपैडिया जान छाडेका छन्। जसले नेपालगन्ज बजार पुनः सक्रिय बन्न थालेको छ। विशेषगरी खाद्यान्न, लत्ताकपडा, किराना तथा इलेक्ट्रोनिक्स पसलहरूमा ग्राहकको आवागमन उल्लेख्य रूपमा बढेको देखिन्छ। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुगेको छ।

यद्यपि, उपभोक्ताहरू भने मूल्य र विकल्पको हिसाबले अझै सन्तुष्ट हुन सकेका छैनन्। कतिपय उपभोक्ताले नेपालगन्जमा मूल्य केही महँगो पर्ने र विविधता कम हुने गुनासो गर्ने गरेका छन्। उपभोक्ता पारि (रुपैडिया) जान छाडेपछि केही व्यापारीले कालोबजारीसमेत गर्न थालेको उपभोक्ताको गुनासो छ। पछिल्लो समय दैनिक उपभोग्य सामानको मूल्य पनि आकासिएको छ।

नेपालगन्जकी निर्मला कुर्मीले भनिन्, ‘रुपैडियामा सस्तो र धेरै विकल्प पाइन्थ्यो, यहाँ अलि महँगो पर्छ।’

सीमामा गरिएको कडाइलाई सुरक्षा र राजस्व संकलनका दृष्टिले आवश्यक मानिए पनि यसको प्रभाव दुई देशका सीमावर्ती बजारमा फरक–फरक रूपमा देखिएको छ। एकातिर रुपैडियामा व्यापार मन्दी देखिएको छ भने अर्कोतर्फ नेपालगन्ज बजारमा पुनः जीवन फर्किन थालेको छ।

यस अवस्थाले दीर्घकालीन रूपमा स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउन सक्ने देखिन्छ। तर त्यसका लागि नेपालगन्जका व्यापारीहरूले मूल्य नियन्त्रण, गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिनु आवश्यक देखिन्छ। उपभोक्ताको विश्वास जित्न सके मात्र यो अवसरलाई दिगो उपलब्धिमा रूपान्तरण गर्न सकिनेछ।

प्रकाशित: ५ वैशाख २०८३ १७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App