कुनै समय जंगलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटे यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन्। जंगलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरू यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरू समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन्। ‘सरकारले हामीलाई जंगलबाट बस्तीमा ल्यायो, मासिक रूपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाँच्नुपरेको छ,’ उनले भने।
जंगलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जंगलबाट काठ ल्याउन नपाएको उनको भनाइ छ। जंगलबाट फर्किएर अन्य नागरिकजस्तै जीवन बिताउन थाले पनि सीपअनुसारको काम नपाउँदा समस्या भएको उनको गुनासो छ।
‘हाम्रा छोराछोरी पढे लेखेका छैनन्। सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्थ्यो,’ राउटेले भने, ‘सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ। त्यसले मात्रै खाना लाउन पुग्दैन।’
समाजमा अन्य नागरिकसरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ। ‘हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ,’ उनले भने, ‘भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ।’
उनले जंगली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताए। ‘जंगली जीवन छोडेर अन्य नागरिकजस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ,’ उनले भने, ‘सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो।’
करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्र राउटे समुदायको बसोबास छ। दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटे परम्परागत पेसाको विकल्प खोज्न थालेका छन्।
‘हाम्रो पूर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ। गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ,’ अनिता राउटेले भने, ‘अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ।’
जंगलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन्। पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ। रासस
प्रकाशित: ८ आश्विन २०८२ ०६:४५ बुधबार





