सुपरहिट मलयालम फिल्म ‘मंजुम्मेल ब्वाइज’का निर्देशक चिदम्बरम एस पोडुवालविरुद्ध केरलमा यौन दुर्व्यवहारको मुद्दा दर्ता गरिएको छ।
भारतीय सञ्चारमाध्यम पीटीआईका अनुसार कोच्चिको एर्नाकुलम साउथ प्रहरीले एक महिलाको उजुरीका आधारमा आइतबार मुद्दा दर्ता गरेको हो।
प्रहरीका अनुसार निर्देशकले एलामकुलमस्थित ती महिलाको अपार्टमेन्टमा जबरजस्ती प्रवेश गरी यौन उत्पीडन गरेको आरोप लगाइएको छ। मुद्दा भारतीय न्यायसंहिताको धारा ७४ र ७५ अन्तर्गत दर्ता गरिएको छ।
उजुरीकर्ताको बयान लिएपछि मात्र केस दर्ता गरिएको बताइएको छ। निर्देशकलाई सोधपुछका लागि चाँडै नोटिस जारी गरिने प्रहरीले जनाएको छ। हालसम्म चिदम्बरमले यी आरोपबारे कुनै प्रतिक्रिया दिएका छैनन्।
चिदंबरम एस पोडुवाल अभिनेता गणपतिका दाजु हुन्। गणपतिले उनीसँग मिलेर ‘जन.ई.म्यान’ को कथा पनि लेखेका थिए।
‘मंजुम्मेल ब्वाइज’ २०० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने पहिलो मलयालम फिल्म बनेको थियो। यसले फिल्म सन् २०१८ लाई पछि पार्दै सबैभन्दा बढी कमाइ गर्ने मलयालम फिल्मको कीर्तिमान बनाएको थियो।
फिल्मले ५५औँ केरला स्टेट फिल्म अवार्ड्समा १० पुरस्कार जितेको थियो, जसमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथा समावेश छन्।
साथै यसले ७०औँ फिल्मफेयर अवार्ड्स साउथ (२०२६) मा सर्वश्रेष्ठ मलयालम फिल्मको पुरस्कार पनि जितेको थियो।
प्रकाशित: १८ फाल्गुन २०८२ १३:४९ सोमबार


-600x400.jpg)


