१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

तारेको माछाले दिने आनन्द

खानपान

जनकपुरधामको राजदेवी मन्दिरबाट करिब २० मिटर उत्तर मोडिएपछि पश्चिमपट्टि साँघुरो गल्लीबाट भित्र प्रवेश गर्दा कुर्सीमा मानिसको भिड देखिन्छ। यो भिडले घरेलु होटलको तारेको माछाको स्वादको ताकतलाई दर्साउँछ। यो होटलको तारेको माछाको चर्चा जनकपुरधाममा मात्र सीमित छैन्, काठमाडौंदेखि देशभर व्यापक बन्दै छ।

बाँसको खम्बाले ठड्याइएको टहरा, जस्ताको छानामुनि प्लास्टिकका कुसी र काठका पुराना टेबलले मधेसको मौलिक बस्तीलाई दर्साउँछन्। अनि तावामा तोरीको तेलको छिटा हाल्दै मधुर तापमा तारेका माछाले मधेसको मौलिक स्वाद। त्यही भएर होला, जनकपुरधाम आइपुग्ने जोकोही पनि माछाको स्वाद लिन लालायित हुन्छन्।

दिनभरि प्रायः सुनसान देखिने यो होटलको टहरामुनि अपराह्न ४ बज्नासाथ माछा पारखीहरूको भिड लाग्छ। त्यसपछि राति ९ बजेसम्म होटलका कुर्सी भरिभराउ हुन्छन्। अधिकांश सरकारी कर्मचारी, व्यापारी र नेताहरू उनका नियमित ग्राहक हुन्। काठमाडौं, विराटनगरलगायत ठाउँबाट घुमफिर तथा कामका लागि आएका माछा पारखीहरू यहाँ पुगेकै हुन्छन्।

यो होटलमा सादा मुरही, लसुन र खुर्सानीको चटनी र प्याजसहित ग्राहकले इच्छाएका माछाका पिस पेस गरिन्छ। अरूभन्दा फरक मसलामा भोकरा माछा तारेर पकाउने गरेकाले जनकपुरधाममै यो होटलको माछाको स्वाद बेजोड छ।

चार दशकअघि जनकपुरधाम उपमहानगरपालिका -४ का सरोजप्रसाद साहले ‘घरेलु होटल आनन्दको’ सुरुवात नै तारेको माछाबाट गरेका थिए। यसभन्दा अघि उनी जनकपुरधामकै एउटा कपडा पसलमा काम गर्थे। त्यहाँको आम्दानीले श्रीमती र छोराछोरीको गुजारा मुस्किल थियो। उनी आफ्नै केही गरौं भनेर घोत्लिन थाले।

मिथिलाको महत्त्वलाई वर्णन गर्दै कवि सोमदेवले लेखेका छन्, ‘पग पग पोखर माछ मखान, सरस बोल मुस्की मुख पान।’ अर्थात् - जहाँ हरेक पाइलामा माछा, मखान र पोखरी भेटिन्छ, जहाँ तपाईंलाई मुस्कुराउँदै गरेको अनुहारले स्वागत गर्छ, त्यो मिथिला हो।

जनकपुरधाम कुण्ड र पोखरीले भरिएको सहर हो। यहाँ माछाको चर्चा नहुने कुरै भएन। माछा र यसको स्वाद प्रायः हरेकको जिब्रोमा छ र चर्चा पनि। माछाको बजारको व्यापकताबाट सरोज पनि अछुतो थिएनन् र उनले माछाकै परिकार पकाएर बेच्ने योजना बनाए। अनि माछा होटल खोले।

उनको परिवारमा कसैले होटल व्यवसाय चलाएका थिएनन्। होटल चलाउनुलाई उनको परिवार र छरछिमेकले राम्रो ठान्दैनथे। उनले होटल खोल्ने भएपछि परिवारमा चिन्ता र समाजमा कुरा काट्नेहरू बढे तर सरोजले अठोट गरिसकेका थिए। सानो लगानीमा छाप्रोमा होटल चलाउँदा धेरै पैसा डुब्ने जोखिम पनि थिएन र उनले होटल चलाउन थाले।

सरोजले टेबल–कुर्सी, भाँडाकुँडा, चुल्होलगायत सामान किन्न सुरुमा १० हजार रुपैयाँ लगानी गरे। बिस्तारै होटल चल्दै गयो। उनको माछाको स्वादले पारखीहरूलाई तान्दै गयो। र, ‘घरेलु होटल आनन्द’ जनकपुरधाममै तारेको माछाका लागि चर्चित र स्वादको राजाका रूपमा स्थापित भएको छ।

एक वर्षअघि सरोजको निधन भयो। अहिले उनको बिँडो एक्ला छोरा आनन्दले थामेका छन्। आनन्द पहिलादेखि नै बुबालाई होटलमा साथ दिँदै आएका थिए। उनले माछाको हरेक रङबाट परिचित भइसकेका थिए।

स्वाद पस्किने मामिलामा पोख्त भइसकेका थिए। त्यही भएर उनी बुबाको कमी ग्राहकलाई महसुस नै हुन दिएका छैनन्। सरोजले पस्किनेजस्तै माछाको स्वाद आनन्दले पस्केर ग्राहकलाई आनन्दित बनाइरहेका छन्।

 ‘विराटनगर र काठमाडौंबाट जनकपुर आउने धेरै पाहुनाले आधा बाटोबाटै फोन गरेर अर्डर गर्नुहुन्छ। उहाँहरू आउने बेलासम्म तयार पारेर राख्छु। आउनासाथ तात्तातो माछा पस्किन्छु। धेरैले प्याक गराएर पनि लैजानुहुन्छ,’ आनन्दले नागरिकसँग भने।

उनका अनुसार दैनिक ३० देखि ५० किलोसम्म माछा बिक्री हुन्छ। यहाँ पिसका हिसाबले माछा बिक्री हुन्छ -प्रति पिस एक सय। यो होटलको एउटा मान्यता छ - भोक्रा माछा, त्यो पनि दुई किलोभन्दा माथिको मात्र। यहाँ अर्को जातको माछा खरिद हुँदैन।

अर्को कुरा स्थानीय पोखरीकै माछा खरिद गरेर ल्याइन्छ। भोक्रा माछा स्वादको राजा मानिन्छ। त्यो पनि दुई किलोभन्दा माथि तौलको भएपछि मसिनो काँडा पनि नहुने। खानलाई स्वादसँगै काँडा केलाउने झन्झट पनि नहुने।

दुई किलोभन्दा माथि तौलको भोक्रा माछाको दाम पनि अरूभन्दा बढी हुन्छ। पाँच सयदेखि ६ सय रुपैंया प्रतिकिलो पर्छ। ‘जुवाइल माछा (छिपिएको माछा) मा काँडा कम र स्वाद बेजोड हुने भएकाले ग्राहकले खुबै रुचाउँछन्,’ आनन्दले भने, ‘एकपटक आउने ग्राहक यहाँको नियमित ग्राहक बन्नुहुन्छ। अरूलाई पनि यहीं लिएर आउनुहुन्छ। मेरो होटल ओझेलमा भए पनि चर्चित हुनुको कारण स्वाद र शुद्धता नै हो,’ उनले भने।

आनन्दको माछा तार्ने तरिका पनि अरूको भन्दा फरक छ। मसला मिसाउने तरिका मात्र होइन, तार्ने विधि पनि फरक छ। उनी एक–एक टुक्रा माछा अलग अलग तार्छन्। मसला यसरी मिसाउँछन्, तावामा हाल्दा पनि टाँसिएरै बस्छ। माछा र मसला एकअर्कासँगै टाँसिएर पारखीको प्लेटसम्म पुग्छ। जसले माछाको स्वादमा चार चाँद लगाइदिन्छ।

मसलामा लसुनको पेस्ट, खुर्सानीको धुलो, हल्दी र नुन हाल्ने गरेको आनन्दले बताए। महँगो होस् वा सस्तो यी सामग्री सधैं एकनासले हाल्ने गरेकाले पनि कहिल्यै ग्राहकलाई स्वादमा कमी महसुस हुँदैन। घाटा–नाफाभन्दा पनि ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अहिलेसम्म यो होटल आफ्नो स्वादलाई टिकाइराखेको छ।

सुरुमा सिलौटामा पिनेर मसला माछामा हालिन्थ्यो। अचेल मिक्सचर प्रयोग हुन्छ। फरक यति मात्र आएको छ। माछा जस्तै मसला पनि उनी स्थानीय नै प्रयोग गर्छन्।

आनन्द स्कुल पढ्दादेखि नै बुबासँगै होटलमा काम गर्न थालेका थिए। होटलकै कमाइबाट छोरीहरूको बिहे गरिदिए सरोजले। र, जनकपुरधाममा घरजग्गा जोडेका पनि छन्।

सरोजले सुरुवात गरेको माछाको पाककला आनन्दले पनि उस्तै स्वादमा पस्केर माछा पारखीहरूलाई आनन्द बाँडिरहेका छन्। उनी भन्छन्, ‘दृढ अठोट, इमानदारी, मिहिनेत र धैर्य भए यहीं कुशल भविष्य निर्माणको सम्भावना व्यापक छ।’  

प्रकाशित: ५ पुस २०८२ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App