कृषकलाई गुणस्तरहीन गँड्यौला मल बाँडेको गुनासो आएपछि जुम्लाको तातोपानी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।
गाउँपालिका ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता अमरबहादुर रोकायाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। कृषकलाई गुणस्तरहीन मल वितरण गरिएको जनगुनासो आएकाले सत्यतथ्य के हो ? छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ। गत मंगलबार र बुधबार गाउँपालिकाले मल वितरण गरेको थियो। प्राविधिक त्रुटिपूर्ण कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ।
यसबाट भएको असुविधाप्रति क्षमा मागेको छ। गँड्यौला मलको नाममा रातो माटोजस्तो मल दिएपछि कृषकहरू शङ्कास्पद बनेका छन्। गत आर्थिक वर्ष जनतासँग उपाध्यक्ष कार्यक्रम शीर्षकमा किसानलाई मल दिन थालिएको थियो। चितवनस्थित दिव्य अर्गानिक फर्टिलाइजर कम्पनीले मल उपलब्ध गराएको हो। उक्त कम्पनीले लामो समय स्टोर गरेको मल दिएको भन्दै कृषकहरू आक्रोशित बनेका छन्।
‘मल दुई वर्षअघिदेखि गाउँपालिका कार्यालय नजिकै स्टोर गरेर राखिएको थियो,’ कम्पनीका सञ्चालक नरेन्द्र गिरीले २०७४ सालदेखि एक लाख किलो मल जुम्लामा आइपुगेको बताए। गाउँपालिकाले ३ सय ५५ बोरा मल ल्याएको थियो। खरिदका लागि कम्पनीलाई तीन लाख १५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ।
प्रकाशित: ९ श्रावण २०८२ २२:०२ शुक्रबार





