बाँके जिल्लामा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको भूमिकाबारे सरोकारवालाले प्रशंसा गरेका छन्। शुक्रबार नेपालगन्ज उपमहानगरपालिका–१५ मा शुक्रबार सम्पन्न सीमा सहजीकरण बैठकमा सहभागी सरोकारवालाले सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका हुन्।
बैठकमा सहभागी बिओपी जमुनाहका सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) आवेश पुनले सीमा सुरक्षामा तैनाथ प्रहरीको अवस्था प्रस्तुत गरेका थिए। उनले सीमावर्ती क्षेत्रमा दैनिक गस्ती गर्नु सामान्य काम नभएको बताउाँदै त्यसमा जीवन जोखिममै राखेर काम गर्नुपर्ने चुनौती रहेको बताए। ‘खुला सीमा, तस्करी, मानव ओसारपसार, अवैध कारोबार र आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरी २४ सैँ घण्टा सतर्क हुनुपर्छ,’ उनले भने।
उनका अनसार जमुनाहदेखि निभिया तलाउसम्मको भूभागका कतिपय स्थानमा मोटरसाइकल वा साइकलसमेत पुग्दैनन्। ‘सशस्त्र प्रहरीलाई पैदल वा बगर–खेतमार्ग पार गर्दै गस्ती गर्नुपर्ने बाध्यता छ,’ इन्स्पेक्टर पुनले भने, ‘यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि हामीले गस्ती रोकेका छैनौं।’ यस्तो बेला रातभर हिँड्न बाध्य हुनुपरेको उनले बताए। ‘यहाँ जिम्मेवारीबाट पछि हट्ने विकल्प छैन’, उनले भने।
सीमा क्षेत्रमै खटिएका एक सशस्त्र प्रहरी जवानले कहिलेकाहीँ बिहानदेखि बेलुकीसम्म एक छाक खान पनि समय नमिल्ने सुनाए। ‘पैदल गस्ती गर्दा खुट्टा फुल्छ, तर अवैध सामान बोकेर भाग्नेहरूलाई छाड्न मिल्दैन’, उनले भने। राति गस्तीमा निस्कँदा कहिलेकाहीँ सर्पको डर, त कहिले तस्करहरूको आक्रमणको सम्भावना रहने गरेको पनि उनले सुनाए।
स्रोतसाधन अभावले सीमा सुरक्षामा खटिँदा कठिनाइ सिर्जना गरेको पनि सशस्त्र प्रहरीको गुनासो छ। लामो दूरी पैदलै हिँड्दा शारीरिक थकान, रोग र दुर्घटनाको उच्च जोखिम पनि हुने गर्छ।
नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाह सशस्त्र प्रहरी नभएको भए सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्नै नसकिने बताउँछन्। ‘उनीहरू दिनरात सुरक्षामा खटिएका छन्। तर उनीहरुको अवस्था हेर्दा दया लाग्छ, साधन नहुँदा पैदलै हिँडेर गस्ती गर्नुपरेको छ,’ उनले भने। वडाध्यक्ष शाहले सीमा सुरक्षा सशस्त्र प्रहरीको मात्र जिम्मेवारी मान्न नहुने पनि बताउँछन्। उनी भन्छन्, ‘सुरक्षा निकायसँग मिलेर अवैध गतिविधि नियन्त्रण गर्न नागरिकको पनि सक्रिय सहभागिता आवश्यक छ ।’
बैठकमा सहभागीहरूले प्रहरीको निरन्तर कष्टकर गस्ती, जोखिम मोलेर गरेको अभियान र सीमित साधनबिचको समर्पणलाई प्रशंसा गरेका छन्। उपमहानगरपालिका–१५ वडाध्यक्ष मदनविक्रम शाहको अध्यक्षतामा बसेको बैठकसँगै सबैजसो सरोकारवाला जमुनाहदेखि निभिया तलाउसम्मको सीमा स्तम्भ निरीक्षणमा पनि निस्किएका थिए। सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र पत्रकारसहितको टोलीले सीमा क्षेत्रको वास्तविकता प्रत्यक्ष अवलोकन गरेका थिए।
प्रकाशित: २२ भाद्र २०८२ १७:०६ आइतबार




