अनु शाहीको घर पहिले कैलाली थियो, पछि परिवार बाँकेको कोहलपुर सर्यो। अनु जन्मिँदा आमाबाबुले ‘छोरी’ जन्मिएको भन्दै खुसी मनाएका थिए। ठुलो हुँदै जाँदा छोरी लाईझैँ भाँडा कुटी(घरायसी सामग्री)जस्तै खेलौना ल्याएर दिन्थे।
अनुको मन भने ती खेलौनातिर जान्न थ्यो। उनका पाइला गुच्चा, डन्डिबियो, फुटबल खेलिरहेका केटाका हुलतिर जान्थे । उनी केटाहरूको भिडतिर दौडिएको देखेर समाजका बुढापाका मान्छेहरू आश्चर्यमा पर्थे। कतिपय ‘छोरी भएर छोराले खेल्नेजस्तो खेल खेल्न किन जान्छेस्?’ भनेर हकार्थे पनि ।
अनुका बुबा उनका लागि केटीले लगाउने लुगा ल्याइदिन्थे। तर, ती लुगामा अनुको मन जाँदैनथ्यो। ‘लगाएजस्तो गरेर पछि मिल्काइहाल्थे । दाइहरूका लुगा चोरी चोरी लगाउने गर्थें,’ पुराना दिन सम्झँदै अनु भन्छन्। बाल्यकालमा ‘छोरी’ भनेको पनि अनुलाई मन पर्दैनथ्यो।
अनु कक्षा ६ सकेर ७ मा पुग्दा परिवार कोहलपुर सरेको थियो। ७ कक्षा भर्ना भएपछि उनलाई बुबाले स्कुल ड्रेसमा ‘फ्रक’ ल्याइदिए। ‘त्यो फ्रक लगाउने मनै थिएन । मैले सरसँग आग्रह गरेँ। सरले पाइन्ट लगाउन अनुमति दिनुभयो। म त्यति बेला धेरै खुसी भएँ,’ अनुले अनुभव सुनाए।
विद्यालयमा केटी साथीहरूको हाँसो मजाक चल्थ्यो–फलानो केटाले फलानो केटीलाई मन पराउँछ भनेर। ‘मलाई ठिक उल्टो भयो। मेरो मन केटाभन्दा केटीतिर जान्थ्यो। केटी नै मन पर्थ्यो,’ उनले अनुभव सुनाउँदै भने,‘यो कुरालाई लिएर म आफैँलाई प्रश्न गर्थें। मलाई किन यस्तो हुन्छ? अगाडि बसेको केटी साथी र म एउटै छौँ। उ पनि छोरी, म पनि छोरी। तर, उसको र मेरो रोजाइ किन फरक ?’ यो कुराले त्यति बेला आफूलाई धेरै सताएको उनी सुनाउँछन्।
महिनावारीले जन्माएको द्विविधा
कक्षा १० मा पढ्दा अनुलाई पहिलो पटक रजस्वला(महिनावारी) भयो। त्यो बेला उनलाई साह्रै नराम्रो लाग्यो। ‘हाम्रो समाजमा छोरी मान्छेका लागि रजस्वला हुनु उत्सव मानिन्छ । कतिले उत्सवकै रूपमा मनाएको पनि हामीले देखेका छौँ,’ उनले भने,‘तर मलाई भने नराम्रो लाग्यो। अचम्म पनि लाग्यो।’ त्यो बेला आफू छोरा पनि नभएको महसुस भएको उनले सुनाए। ‘छोरी भन्दा चित्त दुख्थ्यो, छोरा नै हुँ लाग्थ्यो। त्यो बेला मनले प्रश्न ग¥यो–धत् छोरा मान्छे पनि कहीँ महिनावारी हुन्छ?’, त्यो बेलाको अनुभव उनले सुनाए। त्यही प्रश्न उनले आमासँग पनि राखे, ‘आमा छोरालाई पनि महिनावारी हुन्छ र?’ आमाले भनिन्–तँ अहिले सानै छेस्, पछि थाहा पाइहाल्छेस्।

महिनावारी हुनुअघि अनुले बाल्यकालमा आफूलाई दाजु र बुबा जस्तो सोच्थे। आमा र दिदी जस्तो होइन भन्ने लाग्थ्यो। ‘आमा विवाह गरेर अर्काको घर जाने हो भन्दा, म त बुहारी भित्र्याउने हो भन्थेँ। आमा हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो–ठुली भएपछि थाहा पाउँछेस्,’ उनले भने।
महिनावारी हुन थालेको केही समयपछि अनुको एसइई आयो। एसइईको बेलासम्म अनुको मनमा ‘आफू के हुँ?’ भन्ने प्रश्न अनुत्तरित थियो। परिवार र समाजले उनलाई छोरी भन्थ्यो, मनलाई छोरी होइन, छोरै हुँ लाग्थ्यो। तर महिनावारी भएपछि आफ्नै मनमा आशंका पनि जन्मिएको थियो। भित्रभित्रै आफ्नै पहिचानको खोजीमा अनुको मन पोलिरहन्थ्यो।
प्रविधिसँग पहिचानको खोजी
एसइईपछि अनुको गन्तव्य काठमाडौं बन्यो। कोरोना महामारीको समय थियो, सबै ठाउँलाई लकडाउनले बन्दाबन्दीको चपेटामा लिएको थियो। घरबाट टाढा बस्न थालेपछि आमाबाबुले सम्पर्कका लागि अनुको हातमा मोबाइल थमाए। त्यही मोबाइल अनुको मनभित्र रहेको पहिचानको उकुसमुकुसको भारी बिसाउने सहारा बन्यो ।
अनुले आफ्नो मनको प्रश्न गुगलसमक्ष प्रस्तुत गरे । ‘गुगलमा–म महिला हुँ, तर मलाई पुरुष बन्न मन छ, भन्दै सर्च गरेँ। तर, गुगलले सर्जरी गरेका कुराहरू देखायो,’ उनी भन्छन्। त्यसले उनको चित्त बुझेन।

फेरी सर्च गरिन्–महिलाप्रति महिला नै आकर्षित हुनुलाई के भनिन्छ ? गुगलले उत्तर दियो–लेस्बियन। ‘त्यसपछि मलाई लाग्यो के म लेस्बियन हुँ?’ उनले भने। तर अनुको मनको जिज्ञासा पहिचानको खोजीमा सन्तुष्ट भइसकेको थिएन। यो विषयमा उनले खोजिरहे।
‘संयोगले एउटा कार्यक्रममा गएको थिएँ। त्यहाँ थाहा पाएँ–लेस्बियन र ट्रान्सम्यान फरक हुन्। त्यहाँ केही ट्रान्सम्यान हुनुहुन्थ्यो। उहाँहरूसँग कुरा गर्न सजिलो लाग्यो,’ अनुले अनुभव सुनाए,‘उहाँहरूसँग मेरो भावना मिलेजस्तो अनुभूति भयो।’ त्यहाँबाट फर्किएर उनले ट्रान्सम्यानबारे अनलाइनमा सर्च गर्न थाले। ‘गुगलले देखाएका कुरा र मेरा भावना मिल्थे। मैले १६ वर्षको पहिचानको तडपपछि बल्ल थाहा पाएँ–म ट्रान्सम्यान रहेछु,’ अनुले सुनाए।
असल साथीको आड
अनुले आफ्नो लैंगिक पहिचान फेला त पारे, तर अरूलाई त्यो पहिचान सुनाउन सजिलो भने थिएन। लामो समय मनभित्रै रहेको उनको कुरा स्नातक तह पढ्दा एक जना केटा साथीसमक्ष मात्रै खुल्यो। ‘एउटा मन मिल्ने साथीसँग मित्रता भयो। मैले त्यही साथीलाई सबैभन्दा पहिला आफू ट्रान्सम्यान भएको कुरा भन्न सके,’ उनले भने, ‘ती साथीले पनि मलाई राम्रै सहयोग गरे। उनले मलाई–तिमीले आफ्नो भावनाका यस्तो कुरा विश्वास गरेर मलाई भन्यौँ भन्दै अगाडि बढ्न हौसला दिए।’
त्यसपछि अनुलाई अरूलाई पनि भन्न हौसला आयो। उनलाई लाग्यो–अरूले साथ नदिए पनि मलाई स्विकार्ने, सहयोग गर्ने समाजमा एउटा साथी त छ नि।
यद्यपि अनुले आफ्नो परिवारमा भने त्यो कुरा भन्न सकेका थिएनन् । एक दिन अकस्मात् उनकी दिदीले सोधिन–अनु तँ एलजिबिटिक्यू प्लस समुदायकी हो नि? अनुलाई हलुको महसुस भयो । ‘मैले सहजै भने–हो दिदी,’ उनले भने। अनुले दिदीसँग भनेको सुनाए, ‘म तपाईंको बहिनी भएर जन्मे पनि म छोरा हुँ जस्तो लाग्छ।’

दिदीले पनि अनुले दिएको पहिचान सहजै स्विकारेर अनुलाई अगाडि बढ्न प्रेरित गरिन्। ‘ठिकै छ, राम्रोसँग अगाडि बढ्नु, राम्रो काम गर्नु, भनेर दिदीले भन्नुभयो। त्यसले मलाई झन् खुल्न ऊर्जा मिल्यो,’ उनले भने। त्यसपछि अनुलाई आफ्नो पहिचान भन्न डर लाग्न छाड्यो, उनी निर्धक्क पहिचान बताउन थाले।
अनुलाई साहित्यमा पनि लगाव थियो। उनले कविता लेख्ने गर्थे। ‘पोएट आइडल’ अडिसन पनि दिए। त्यहाँ उनको सेलेक्सन भयो। पोइट आइडलको त्यही मञ्चबाट अनुले खुला रूपमै पहिचान खोलिदिए। त्यहाँ उनले आफ्नो पहिचानलाई नै लिएर कविता वाचन गरेका थिए। उनले सुनाएको कविताको राम्रै चर्चा भयो, सबैले मन पराए।
पोइट आइडलबाट निस्किएपछि अनु घर गए। अनुलाई लागेको थियो–घरमा आमाबुबा र समाजमा कस्तो प्रतिक्रिया आउला? घर पुगे लगत्तै आमाले भनिन्, ‘हामीलाई पहिलादेखि नै लागेको थियो। तैँले कहिल्यै पनि भनिनस् हामीलाई।’ आमाले सँगै भनिदिइन्–यो कुरालाई लिएर धेरै नसोच्नु। हामी त सँगै छौँ। सधैँ राम्रो काम गर।
अहिले बुबाले–अनु छोरा नै हो भनिदिन्छन्। त्यसले उनलाई उत्साही बनाएको छ। ‘पहिले पनि बुबाले कहिल्यै छोरीको जस्तो लुगा लगाउन कर गर्नुभएन। छोरी जस्तै बन भन्नुभएन,’ उनले भने, ‘अहिले त छोरा नै भन्नुहुन्छ। यही कुरा परिवारले स्विकारिदिनु ठुलै कुरा हुने रहेछ।’ यो कुरा मनाउन पोएट आइडलको मञ्चले सहयोग गरिदिएको पनि अनुलाई लाग्ने गरेको छ।
कठिनाइ पनि छन्
घर र नजिकको समाजमा सहजै समायोजन भएका अनुलाई कतिपय ठाउँमा यही पहिचानले असहज पनि बनाउने गर्छ । घर बाहिर जाँदा सार्वजनिक शौचालय प्रयोग गर्न कठिनाइ हुन्छ। ‘महिलाको शौचालय जाऊँ, पुरुष आयो भन्छन्। पुरुषको शौचालय जान पनि अप्ठेरो,’ उनले सुनाए, ‘शौचालयकै समस्याले महिनावारी भएका बेला कलेज नै जान गाह्रो हुन्थ्यो।’
समाजमा लैंगिक अल्पसंख्यकलाई जिस्क्याउने, फरक दृष्टिले हेर्ने, दुर्व्यवहार गर्ने प्रवृत्तिले पनि समस्या निम्त्याउने अवस्था पनि दुःखद अनुभूति छन्। ‘पहिला कसैले केही भनिहाले, जिस्क्याए । चुपचाप हिँड्ने गर्थें,’ अनुले भने, ‘अब दुर्व्यवहार सहिन्न। प्रतिवादमा बोलिन्छ। यसले सकुन् पनि दिन्छ।’
अनु अहिले आफू मात्रै नभएर आफूजस्तै लैंगिक अल्पसंख्यक समुदायका लागि काम गरिरहेका छन् । उनी युनिट फर चेन्ज नामक संस्थामा आबद्ध छन्।
प्रकाशित: १५ भाद्र २०८२ १७:०६ आइतबार





