काठमाडौं उपत्यकाका नदी किनार अतिmमण गरी बनाइएका संरचना हटाउन सरकारले बल प्रयोग गर्दा सुकुम्बासीहरूको उठिवास लागेको छ। सुकुम्बासी र हुकमबासीको पहिचान नगरी शनिबार र आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरी जबरजस्ती बस्ती खाली गराउँदा वास्तविक सुकुम्बासी र निमुखाको उठिबास भएको हो।
सरकार र सुरक्षा संयन्त्रले सुकुम्बासी बस्ती शान्तिपूर्ण रुपमा खाली गराइएको दाबी गरेको छ तर त्यहाँ बस्दै आएका सुकुम्बासी र निमुखाहरुको मनमा अशान्ति छ । हजारौं सुरक्षाकर्मीको अगाडि सुकुम्बासीले प्रतिरोध गर्न नसक्दा बस्ती उठाउन सहज भएको हो तर जबरजस्ती बस्ती खाली गराउँदा सुकुम्बासीको मनमा आगो बलेको छ। उनीहरुको मुहार मलिन छ । उनीहरूमा अब कहाँ बस्ने भन्ने चिन्ता छ। सुरक्षाकर्मीले घेरा हालेपछि बाध्य भएर आँशु चुहाँउदै उनीहरु बस्तीबाट बाहिरिएका छन्।
काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा शनिबार र आइतबार डोजर लगाउन करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिएपछि सुकुम्बासीहरु खुरुखुरु बस्ती छाडे। केही सुुकुम्बासीका सामान ओसार्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहयोग पनि गरे। बाहिरी घेराबाट हेर्दा बस्तीमा सुरक्षाकर्मीको वर्चस्व देखिो। बस्तीमा बन्दुकधारी सुरक्षाकर्मीको बाक्लो उपस्थितिले मनोवैज्ञानिक त्रास सिर्जना गरेको थियो । झिसमिसेमै सुरक्षाकर्मीले बस्ती घेरेपछि उनीहरूका सामु बस्ती छाड्नुबाहेक विकल्प रहेन।
मनोहरास्थित सुकुम्बासी बस्तीमा शनिबार साँझ डोजर चलाउँदा सुुकुम्बासीले केही समय प्रहरी र डोजरमाथि ढुंगा हानेर प्रतिरोध प्रयास गरेका थिए । त्यसक्रममा थिमि प्रहरी वृतका प्रमुख डिएसपी नवराज ढुंगानासहित १४ जना घाइते भए। घाइते हुनेमा ८ नेपाल प्रहरी, ५ सशस्त्र प्रहरी र एक पत्रकार छन्। मनोहरामा आइतबार बिहान ६ बजेदेखि नै सुुकुम्बासी हटाउन ठुलो संख्यामा सुरक्षाकर्मी पुगेका थिए। केही सुकुम्बासीले बस्तीवरिपरि टायर बालेर नाराबाजी गर्दै अवरोध गर्न खोजेका थिए। नाराबाजी गर्नेभन्दा सुरक्षाकर्मीको संख्या निकै बढी भएकाले अन्ततः उनीहरू बस्ती छाडेर बाहिरिए।
सुकुम्बासी बस्ती खाली गराउने क्रममा त्यहाँ रहेका घरपालुवा जनावर बेवारिसे जस्तै देखिए। ती जनावरलाई केही संस्थाहरूले दानापानी दिएको पनि देखियो । स्नेहा केयर, क्याटलगायत संस्था जनावरहरूलाई खाना दिएर, उपचार गरेर संरक्षणमा खटिएका थिए। ती संस्था घाइते तथा बेवारिसे जनावरको उद्धार, हेरचाह र उपचारमा जुटिरहेका छन्। अलपत्र अवस्थामा रहेका सुकुम्बासीका सामान झरीले भिजेका थिए। सुुकुम्बासी बस्तीका करिब २ सय विद्यार्थी पनि अलपत्र परेको देखियो। मनोहरा सुुकुम्बासी बस्तीमा रहेको त्यो आधारभूत स्कुल २०६२ सालमा स्थापना भएको हो। त्यो स्कुल २०६४ देखि सरकारी मान्यतासहित सञ्चालनमा छ। त्यहाँ २०७१ देखि कक्षा ८ सम्मका अध्ययन गराउन थालिएको हो। अहिले त्यहाँ १५ जना शिक्षक र एक कार्यालय सहयोगी छन्। समयमै उचित व्यवस्था नभए ती विद्यार्थीको भविष्य अन्योलमा पर्ने छ।
प्रकाशित: १४ वैशाख २०८३ ०७:४० सोमबार





