कवि मणिराज सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’को लोकार्पण गरिएको छ। ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवसले सो पुस्तकको लाेकार्पण गरेका हुन्।
साहित्यकार दिवसले कवि सिंह विचारको अग्निशिखा बोकेर हिँड्ने सचेत कवि भएको बताउँदै कवितालाई कोठाको विलासिताबाट निकालेर सडकको यथार्थ र जनजीवनको धड्कनसम्म पुर्याउनुपर्ने धारणा राखे।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति प्राडा विष्णुविभु घिमिरेले सिंहका कविता बौद्धिक र नयाँ पुस्ता प्रेरित गर्ने खालको भएको बताए। प्रतिष्ठानका पूर्वसदस्यसचिव डा. तुलसीप्रसाद भट्टराईले कृतिकार सिंह साहित्यिक सिर्जना, संस्थागत नेतृत्व र नयाँ स्रष्टालाई मार्गदर्शन गर्ने कार्यमा निरन्तर सक्रिय रहेको बताए।
पुस्तकमाथि समीक्षा गर्दै प्राडा भरतकुमार भट्टराई र डा. रमेश शुभेच्छुले विम्ब, प्रतीक र अलङरका दृष्टिले कृति सशक्त रहेको टिप्पणी गरे। कार्यक्रममा स्रष्टाहरू उषा शेरचन, सुनिता अधिकारी, योगाज राजन कविराज, रचिता दाहाल, कल्पना मरासिनी र बुद्धिमान महर्जनले ‘लोकतन्त्रको अस्मिता’बाट कविता वाचेका थिए।
उक्त अवसरमा ‘नेपाली सरोकार’ मासिककी प्रकाशक/सम्पादक रमा वली र ‘गृष्मा ग्राफिक प्रेस’ का अध्यक्ष घननारायण श्रेष्ठलाई सम्मान अर्पिएको थियो।
प्रकाशित: १६ श्रावण २०८३ १३:०९ शनिबार





