१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

पशुपतिनाथमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात

विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’को सुरुवात भएको छ। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले वृक्षारोपण गरेर यस अभियानको सुरुवात गरेका छन् ।

यस अभियानलाई अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रिएसन) को नेतृत्वमा सञ्चालित “क्लाइमेट स्मार्ट सिटीज” परियोजनाको एक नवीनतम पहलको रूपमा मैनादेवी फाउन्डेसनले कार्यान्वयन गरिरहेको छ। दिव्य पशुपतिनाथ अभियानले पशुपतिनाथ मन्दिर परिसरमा बढ्दो प्लास्टिक फोहोर व्यवस्थापनको समस्यालाई सम्बोधन गर्दै वातावरणीय संरक्षण र हरियाली प्रवर्द्धनमा केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ। 

पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य सचिव सुवास चन्द्र जोशी, गौशाला प्रहरी प्रभागका डिएसपी सुकदेव खनाल, काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू, मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनाल, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल (क्रिएसन) की महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाको टिम लिडर सुजाता कोइराला, क्रिएसनकाबोर्ड सदस्यहरू तथा दुबै संस्थाका टिम सदस्यहरूको उपस्थिति रहेको थियो।

अभियान अन्तर्गत सरसफाइ अभियान, वृक्षारोपण कार्यक्रम, फ्रन्टलाइन कर्मचारीहरूका लागि व्यावसायिक सुरक्षा सम्बन्धी तालिम तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछन्। यस अभियानले युवा, स्थानीय समुदाय तथा सरोकारवाला पक्षहरूलाई मन्दिरको पवित्रता र पर्यावरणीय स्वास्थ्यको संरक्षणमा सक्रिय र सामूहिक रूपमा सहभागी गराउने लक्ष्य लिएको छ।

दिव्य पशुपतिनाथ अभियानको उद्घाटन अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा २ सयभन्दा बढी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसर वरिपरि आयोजित यस वृक्षारोपणले वातावरण संरक्षणप्रति जनस्तरको सामूहिक प्रतिबद्धता र चेतनशील सहभागितालाई प्रतीकात्मक रूपमा उजागर गरेको थियो।

आफ्नो मन्तव्यका क्रममा मन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई विशेष रूपमा जोड दिँदै ‘दिव्य पशुपतिनाथ अभियान’ लाई वार्षिक रूपमा निरन्तरता दिनुपर्ने आवश्यकतालाई औँल्याए । ‘यो अभियानले हाम्रो पवित्र सम्पदालाई स्वच्छ र हरियाली बनाउने दिशामा महत्त्वपूर्ण योगदान पु¥याउनेछ।’मन्त्री पाण्डेले भने,‘यस अभियानले हाम्रो दिगो तथा समावेशी शहरी विकासको दृष्टिकोणलाई पनि प्रतिबिम्बित गर्छ ।’

प्रकाशित: ७ श्रावण २०८२ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App