२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री आसपास, भैरहवा र कपिलवस्तुमा ४१ डिग्री नाघ्याे

तराईका अधिकांश स्थानको तापक्रम ४० डिग्री आसपास पुगेको छ। केहीदिन यता पानी पर्न नसक्दा तराईको तापक्रम ह्वात्तै बढेको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) दिउँसो भैरहवाको तापक्रम ४१ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ। यस्तै कपिलवस्तुको अधिकतम तापक्रम ४१ डिग्री, नेपालगन्जमा ४० दशमलव ३, कन्चनपुरको पर्सियामा ४० डिग्री सेल्सियस पुगेको छ। कन्चनपुरको दोधारा र बर्दियाको दौलतपुरमा समान ३९ दशमलव ६ डिग्री, धनगढीमा ३९ दशमलव ५, बाँकेमा ३९ डिग्री सेल्सियस पुगेको छ।  

पूर्वको तुलनामा पश्चिममा तापक्रम ह्वात्तै बढेको महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए। उनका अनुसार पूर्वी नेपालमा बादल लाग्ने र फाट्टफुट्ट पानी पर्ने क्रम चलिरहेकाले तापक्रम ह्वातै बढेको छैन। तर तत्काल धेरै पानी पर्ने सम्भावना नदेखिएकादे अझै केही दिन देशका विभिन्न ठाउँमा तातो लहर चल्ने उनको भनाइ छ। 

'मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी तराई भू-भागमा तातो लहर हुने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा अवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।,' उनले भने।

उनका अनुसार आज (सोमबार) राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  

यस्तै मंगलबार दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी ‍प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत देशका  बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ।

मंगलबार राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली  प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। 

यसैगरी बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली भू-भाग, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग तथा कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल  लाग्नेछ। बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। 

कोशी ‍प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। देशका बाँकी हिमाली भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ। 

बुधबार राति पनि कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भाग लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  

प्रकाशित: ७ वैशाख २०८३ १८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App