नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई हैजा फैलिएको बारेमा चर्को स्वरमा फोनबाट प्रश्न गर्ने एक महिलालाई पर्सा प्रहरीले चार दिनदेखि थुनामा राखेको छ।
परिवारका सदस्य अस्पताल भर्ना भएको भन्दै हैजाको बेलामा तपाईंले किन फोन नउठाएको भनी उनले मन्त्री यादवसँग फोनमा आक्रोश पोखेकी थिइन्। कलैया उपमहानगरपालिका–२६, सिस्वा महेशपुरकी किरण साहलाई गत शनिबार पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।
मन्त्री यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको उजुरीका आधारमा साहलाई अनुसन्धानका लागि नियन्त्रणमा राखिएको पर्सा प्रहरीले जनाएको छ। संघीय सांसदलाई विद्युतीय माध्यमबाट धम्की दिने र झुटा समाचार अफवाह फैलाउने सम्बन्धी कसुरमा साहविरुद्ध उजुरी परेपछि त्यसको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
मन्त्रीमाथि फोनबाट आक्रोश पोखेकै भरमा विद्युतीय अपराधसम्बन्धी कसुर र झुटा कुराको अफवाह फैलाएको कसुर लगाएर प्रहरीले ज्यादती गरेको भन्दै पर्सा प्रहरी कार्यालय अगाडि साहका आफन्त र महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गर्दै आएका छन्।
पर्सा प्रहरीले मंगलबार किरणलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउँदैछ। किरणकी आमा सावित्री साहले पर्सा प्रहरी कार्यालय पुगेर केन्द्रीय मन्त्रीको पावरका भरमा आफ्नी छोरीलाई थुनामा राखिएको र बिना सर्त तत्काल रिहा नगरे थप आन्दोलन गर्ने चेतावनी दिइन्।
छोरीको रिहाइका लागि दबाब दिन प्लेकार्ड बोकेर प्रहरीको ढोकाअगाडि पुगेकी उनलाई जसपा नेपालकी केन्द्रीय सदस्य करिमा बेगम, जनमत पार्टीकी नेतृ नजमा खातुनसहित विभिन्न संघसंस्था र संगठनका प्रतिनिधिले साथ दिएका थिए।
आफूहरू बिरामी भएर अस्पतालमा भर्ना भएका वेला कुरुवा बसेकी छोरीलाई पक्राउ गरिएको भन्दै सावित्रीले हैजाकै कारण कान्छी छोरी अझै अस्पतालमै रहेको बताइन्। तर, यस्तो संवेदनशील विषयमा पनि नेताहरूले नै अफवाह फैलाएको उनको गुनासो छ।
वीरगन्ज खानेपानी मन्त्रीको निर्वाचन क्षेत्र रहेको र फैलिएको हैजा नियन्त्रण गर्न वीरगन्जवासीले आश गरे अनुसारको कार्य मन्त्री र वीरगन्ज महानगरपालिकाले नगरेको स्थानीयको गुनासो छ।
फोन वार्ता:
किरण: वीरगन्जमा हैजाले कति मान्छे मरे?
मन्त्री यादव: ‘तथ्यांक छ?’
किरण: तथ्यांक होइन, मेरो घरकै मान्छे आइसियूमा भर्ना छ, मन्त्रीजी। मैले छोड्दिन, मलाई डर लाग्दैन।
वीरगन्जमा फैलिएको हैजाबाट तीनजनाको मृत्यु भएको जानकारी स्वयं प्रधानमन्त्री केपी ओलीले १३ भदौमा संसद्लाई दिएका थिए। वीरगन्जमा कोलेरा आउटब्रेक भएको अवस्था थियो। जसले गर्दा जनतामा भय र क्रोधको अवस्था छ।
प्रकाशित: १७ भाद्र २०८२ १३:२८ मंगलबार

