२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

साथीहरूसँग गेष्ट हाउस गएकी किशोरी मृत फेला, चार जना प्रहरीको नियन्त्रणमा

भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया एक किशोरीको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

घटनासँग सम्बन्धित चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

मृतक दोलखा भीमेश्वर–९, खरीढुंगा घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेको खुलेको छ। सोमबार बिहान करिब ३ः३० बजे उनी गेष्ट हाउसको पछाडिपट्टि लडिरहेको अवस्थामा फेला परेकी थिइन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रभाग दुधपाटीको टोली घटनास्थल पुगेको थियो। उनलाई तत्काल भक्तपुर अस्पताल लगिए पनि उपचारका क्रममा बिहान ३:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जनासँग गेष्ट हाउस पुगेकी थिइन्। उनीहरूले दुईवटा कोठा लिएर बसेका थिए। गेष्ट हाउसका कर्मचारीका अनुसार समूहले मदिरा सेवन गर्नुका साथै कोठाभित्र होहल्ला समेत गरेका थिए।

घटनापछि सलिनासँग रहेका दुई पुरुष र दुई महिलालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। उनीहरू सबै २३ वर्षभन्दा कम उमेरका रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रारम्भिक बयानमा उनीहरूले ग्यादरिङका क्रममा सलिना कुन बेला झ्यालबाट तल खसेकी हुन् भन्ने आफूहरूलाई थाहा नभएको बताएका छन्। घटनाको वास्तविक कारण खुलाउन प्रहरीले विभिन्न पक्षबाट अनुसन्धान जारी राखेको छ।

मृतकको शव हाल भक्तपुर अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। प्रहरीले पोस्टमार्टम प्रतिवेदनपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरेको छ।

प्रकाशित: ४ श्रावण २०८३ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App