अन्तर्राष्ट्रिय सुरक्षा मिसनमा मनोनयन भएपछि ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) उमेश जोशी ताप्लेजुङबाट अढाई महिनाको अवधिमै बिदा भएका छन्।
उनी अबको केही दिनभित्रै अन्तर्राष्ट्रिय सुरक्षा मिसनका क्रममा एक वर्षे अवधिका लागि सुडानको डार्फर जाने छन्। जोशी मिसनमा परेपछि रिक्त रहेको ताप्लेजुङ जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी अब डिएसपी कमल बजगाईंले सम्हाल्ने भएका छन्।
प्रहरी प्रधान कार्यालयले ताप्लेजुङको प्रहरी प्रमुखको रूपमा बजगाईंलाई पठाउने तयारी गरेको छ। समन्वय र सहकार्यमा काविल, अपराध अनुसन्धानमा निपूर्ण, आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ, सेवाग्राहीमैत्री र सरल स्वभावका मानिने डिएसपी जोशी नेपाल प्रहरीभित्र असल छबि बनाएका प्रहरी अधिकृतको रूपमा परिचित रहेका थिए।
यसअघिका प्रहरी प्रमुख बेदप्रसाद गौतमले करिब साढे १३ महिना जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर सरुवा भएपछि जोशीले यहाँको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
प्रकाशित: २६ श्रावण २०८३ ०९:२५ मंगलबार





