पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरमा बिहीबार अपरान्ह बस र विद्युतीय माइक्रोबस एकआपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।
दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
तनहुँका प्रहरी निरीक्षक आशिष् विश्वकर्माका अनुसार बन्दीपुर गाउँपालिका-४, ठुलढुङ्गामा दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१-००६ ख ६५०३ नम्बरको माइक्रोबस अपरान्ह करिब ४:५५ बजे ठोक्किएका हुन्।
दुर्घटनामा बसमा सवार १३ जनामध्ये ११ जना र माइक्रोबसमा सवार १० जना घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा माइक्रोबसका चालक र म्याग्दी बेनी नगरपालिका-८ की ३० वर्षीया सजिना पुन रहेका छन्। चालकको परिचय खुलेको छैन।
गम्भीर घाइते चालकलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पताल पठाइएको छ भने पुनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ।
अन्य घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल, दमौलीको रत्नहरी अस्पताल, भरतपुरको सीएमसी र पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय डुम्रेबाट प्रहरी नायब निरीक्षक विजयनाथ यादव र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक कृष्णबहादुर चन्दको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार दुर्घटनाका कारण राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छैन। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए।
यी हुन् घाइतेहरू:
सीएमसी अस्पताल, भरतपुर पठाइएका-
नाम, थर, वतन नखुलेको (माइक्रोबस चालक) - अवस्था गम्भीर
आशा दराई, २९ वर्ष, व्यास न.पा.-१०, तनहुँ - अवस्था सामान्य
साइन दराई, २० महिना, व्यास न.पा.-१०, तनहुँ - अवस्था मध्यम
गीता थापा कुँवर, ३४ वर्ष, दोर्दी-२, लम्जुङ - अवस्था मध्यम
अंशु कुँवर, १८ वर्ष, दोर्दी-२, लम्जुङ - अवस्था सामान्य
बिशाल लामिछाने, २६ वर्ष, सुनौल-६, नवलपरासी - अवस्था मध्यम
सोम बहादुर परियार, २७ वर्ष, व्यास न.पा.-१०, तनहुँ - अवस्था मध्यम
पर्शुराम भट्टराई, ७४ वर्ष, भरतपुर-११, चितवन - अवस्था मध्यम
मणिपाल अस्पताल, पोखरा पठाइएका
मेख कुमार गुरुङ, ४२ वर्ष, पोखरा म.न.पा., कास्की - अवस्था मध्यम
क्षितिज शेरचन, ३३ वर्ष, बेनी-८, म्याग्दी - अवस्था मध्यम
सम्झना ढकाल, २५ वर्ष, पोखरा-८, कास्की - अवस्था सामान्य
सजिना पुन, ३० वर्ष, बेनी-८, म्याग्दी - अवस्था गम्भीर
रत्नहरी अस्पताल, दमौली पठाइएका
रचना भण्डारी, २३ वर्ष, भरतपुर, चितवन - अवस्था मध्यम
लक्ष्मी अस्पताल, डुम्रेमा उपचाररत:
ध्रुवराज सुवेदी, ४२ वर्ष, पोखरा-२९, कास्की - अवस्था सामान्य
सचिन दुवा, ३५ वर्ष, पोखरा-३२, कास्की (बस चालक) - अवस्था सामान्य
सुवास चन्द्र यादव, २४ वर्ष, चुन्म-१, महोत्तरी - अवस्था मध्यम
सीता श्रेष्ठ, ३२ वर्ष, बुलिनटार-१, नवलपुर - अवस्था सामान्य
समीर श्रेष्ठ, ११ वर्ष, बुलिनटार-१, नवलपुर - अवस्था सामान्य
साने विश्वकर्मा, ३६ वर्ष, ज्वालामुखी-५, धादिङ (सह-चालक) - अवस्था मध्यम
साननानी गुरुङ, ३० वर्ष, भानु-६, तनहुँ - अवस्था मध्यम
बखत बहादुर गुरुङ, ३८ वर्ष, कोलाहसोथर-५, लम्जुङ - अवस्था मध्यम
प्रकाशित: २९ श्रावण २०८२ १९:४६ बिहीबार





