जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ साहुँबाडामा एक ७० वर्षीय ज्येष्ठ नागरिकको शंकास्पद मृत्यु भएको छ।
गम्भीर घाइते अवस्थामा फेला परेकी महेश्वरा सुनारलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरी निरीक्षक निर्देश बरालका अनुसार सुनारको टाउको तथा आँखामा चोटपटक लागेको अवस्थामा अस्पताल लगिँदै गर्दा मृत्यु भएको हो।
घटनाबारे प्रारम्भिक अनुसन्धानमा उनको शरीरमा धारिलो हतियार प्रयोग भएको आशंका गरिएको छ।
मृतकका आफन्त धिरबहादुर वडका अनुसार उनलाई घरमै गम्भीर घाइते अवस्थामा सुताएर राखिएको थियो। छिमेकीले घटना थाहा पाएपछि मात्रै अस्पताल लगेका थिए।
चैत ७ गते भएको उक्त घटनालाई शंकास्पद भन्दै परिवारले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको नेतृत्वमा टोली घटनास्थलतर्फ खटाइएको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए।
प्रकाशित: ८ चैत्र २०८२ १५:३३ आइतबार



-600x400.jpg)

