अन्तर्राष्ट्रिय आदर्श मित्रता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ दैलेखबीच मितेरी सम्बन्ध स्थापना भएको ऐतिहासिक अवसरमा राउटे समुदायलाई खाद्यान्न तथा लत्ता–कपडा सहयोग गरिएको छ।
माघे संक्रान्तिको अवसरमा राउटे समुदायले हर्षोल्लासका साथ पर्व मनाइरहेका बेला सुर्खेत जिल्लाको लेकबेसीस्थित राउटे बस्तीमा पुगेर सहयोग सामग्री वितरण गरिएको हो।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष सुकल्याण पराजुलीले मितेरी सम्बन्ध स्थापनाको स्मरणीय अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै राउटे समुदायलाई सहयोग गरिएको जानकारी दिए। त्यसैगरी, लायन्स क्लब अफ दैलेखका अध्यक्ष राजु केसीले ऐतिहासिक दिनमा समुदायलाई आवश्यक खाद्यान्न तथा लत्ता–कपडा प्रदान गर्न पाउँदा खुशी लागेको बताए।
सहयोग वितरणका लागि लायन्स क्लब अफ पोखरा अन्नपूर्णबाट १० सदस्यीय टोली राउटे बस्तीमा पुगेको थियो। राउटे समुदायले माघी पर्वलाई विशेष उत्सवका रूपमा मनाउने गर्दछन्।
सो अवसरमा वितरण गरिएका कम्बलहरू रुंगटा कल्याण समाजको सहयोगमा उपलब्ध गराइएको जनाइएको छ।
प्रकाशित: १ माघ २०८२ १८:५८ बिहीबार





