ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवास्थित तेम्बाका आगलागी पीडितलाई सहयोग जुट्ने क्रम जारी रहेको छ।
तेम्बाका आगलागी पीडितका लागि मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फेको अग्रसरतामा २ लाख १३ हजार ४ सय ७० रुपैयाँ सहयोग रकम प्रदान गरिएको छ। मेरिङदेन गाउँपालिकाका पूर्व प्रवक्ता समेत रहेका स्थानीय सूर्यमान बराईलीका अनुसार आगलागी पीडित ६ परिवारलाई प्रति परिवार ३५ हजार ५ सय रुपैयाँका दरले बितरण गरिएको छ।
तेम्बाका आगलागी पीडितलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको संयोजनमा संकलित एक लाख ६ हजार रकम समेत हस्तान्तरण गरिएको छ। केन्द्रका अध्यक्ष बलबहादुर तामाङसहितको सरोकार केन्द्रको टोलीले उक्त रकम हस्तान्तरण गरेको हो।
यसअघि आगलागी पीडितलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसहितका राजनीतिक दलको अग्रसरतामा संकलित रकम हस्तान्तरण गरिएको छ भने कोशी प्रदेश सरकारका मन्त्री खगेनसिंह हाङगामले समेत सहयोग रकम हस्तान्तरण गरेका छन्। विभिन्न संघसंस्थाहरूले लत्ताकपडा, भाडावर्तनसहितका सामग्री समेत सहयोग गरेका छन्।
गत मंसिर २ गते राति भएको आगलागीमा तेम्बाका चार घर जलेर नष्ट भएका थिए। चार घरमा ६ घरपरिवार बस्ने गर्थे।
प्रकाशित: २५ मंसिर २०८२ १४:१६ बिहीबार





