८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

चोरी भएको मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित गरियो

काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक परिचय बोकेको मरु टोलस्थित ग: गुठी मन्दिरमा करिब ३० वर्षपछि महागौरी (पार्वती) को मूर्ति पुन:स्थापित गरिएको छ। 

विश्व सम्पदा दिवसको सुखद अवसर पारेर शनिबार विगतमा चोरी भई बेलायत पुर्‍याइएको उक्त पवित्र मूर्तिलाई एक भव्य समारोहकाबिच आफ्नै मौलिक स्थानमा प्रतिस्थापन गरिएको हो। १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति काठमाडौं महानगरपालिका–२० मरुस्थित ग:गुठी सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनर्स्थापित गरिएको छ। 

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सामाजिक सञ्जालमार्फत यो खुसीको खबर साझा गर्दै सम्पदा फिर्ती र पुनर्स्थापनालाई 'विश्वास र सांस्कृतिक निरन्तरताको जित' को रूपमा चित्रण गरेकी छिन्। 

मरु टोलबाट चोरी भएर बेलायत पुर्‍याइएको यो मूर्ति वि.सं. २०५२ चैत २९ गते नेपाल फिर्ता ल्याइएको थियो। नेपाल फर्किएपछि सुरक्षाका कारण यो मूर्ति लामो समयसम्म राष्ट्रिय संग्रहालय, छाउनीमा सुरक्षित राखिएको थियो। विस्तृत अनुसन्धान, ऐतिहासिक प्रमाण र स्थानीय समुदायको करिब तीन दशक लामो निरन्तर पहलपछि मात्रै मूर्तिलाई मन्दिरमा फर्काउन सम्भव भएको हो।

कार्यवाहक प्रमुख डंगोलले भनेकी छन्, ‘महागौरी/पार्वती देवी केवल कला वस्तु होइनन्। उहाँ हाम्रो आस्था, पहिचान र जीवित सांस्कृतिक परम्पराको अभिन्न स्वरूप हुनुहुन्छ। उहाँको पुनर्स्थापना केवल मूर्तिको स्थापना होइन, हाम्रो विश्वास र सांस्कृतिक निरन्तरताको पुनर्स्थापना हो।’

उनका अनुसार मूर्ति पुनर्स्थापना कार्यमा विभिन्न निकाय र अभियानकर्ताहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। पुनर्स्थापना कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेनले समेत देवीको मूर्ति बोकेर सहभागिता जनाएका थिए।

हेर्नुस् कार्यवाहक प्रमुख डंगोलको फेसबुक पोस्ट
विश्व सम्पदा दिवसको अवसरमा, मरु टोलस्थित गः गुठी मन्दिर परिसरबाट विगतमा चोरी भई बेलायत पुर्‍याइएको महागौरी/पार्वती देवीको पवित्र मूर्ति आफ्नै मौलिक स्थानमा पुनर्स्थापित गरिएको छ। वि.सं. २०५२ चैत २९ गते नेपाल फिर्ता आएको यो मूर्ति लामो समयसम्म राष्ट्रिय संग्रहालय, छाउनीमा सुरक्षित रूपमा राखिएको थियो। 
विस्तृत अनुसन्धान, ऐतिहासिक प्रमाण र स्थानीय समुदायको निरन्तर पहलबाट करिब तीन दशकपछि २०८३/१/५गते देवी आफ्नै स्थानमा पुनर्स्थापित हुन सक्नुभएको हो। 
यस कार्यमा वडा नं. २० का अध्यक्ष श्री राजेन्द्र मानन्धरको संयोजन, अभियानकर्ता श्री गणपतिलाल श्रेष्ठको नेतृत्व, तथा कानुनी तथा प्रक्रियागत सहयोग अधिवक्ता सञ्जय अधिकारी र श्रीना नेपालबाट प्राप्त भएको थियो। प्राविधिक सहयोग हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजी प्याकुरेल, पुरातत्त्व विभागबाट सरिता सुवेदी र का.म.पाको आर्किटेक्ट अमित बज्राचार्यबाट प्राप्त भयो। 
राष्ट्रिय संग्रहालयप्रति विशेष आभार व्यक्त गर्दछु, जसले यति वर्षसम्म मूर्तिको संरक्षण गरेको थियो। साथै प्रा.डा. एरिन थोम्सन तथा लट्स आर्ट अफ नेपालको महत्त्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गर्दछु। विशेष धन्यवाद स्थानीय रूपमा सहकार्य मरु त्वा: पुच:, मरु टोलका स्थानीय बासिन्दा तथा सम्पदा संरक्षणमा समर्पित सम्पूर्ण समुदायलाई, जसको निरन्तर प्रयास, धैर्य र प्रतिबद्धताले करिब ३० वर्षपछि यो पुनर्स्थापना सम्भव भएको हो। यस अवसरमा हामीसँगै देवीलाई बोकेर सहभागिता जनाउनु हुने बेलायती राजदूत महामहिम Rob Fenn तथा निरन्तर साथ र हौसला प्रदान गर्नु हुने योगेश्वर दाइप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। 
महागौरी/पार्वती देवी केवल कला वस्तु होइनन्। उहाँ हाम्रो आस्था, पहिचान र जीवित सांस्कृतिक परम्पराको अभिन्न स्वरूप हुनुहुन्छ। उहाँको पुनर्स्थापना केवल मूर्तिको स्थापना होइन, हाम्रो विश्वास र सांस्कृतिक निरन्तरताको पुनर्स्थापना हो।
 सम्पदा संरक्षण राज्य र नागरिक सबैको साझा दायित्व हो भन्ने कुरामा पुनः जोड दिन चाहन्छु। 🙏

प्रकाशित: ६ वैशाख २०८३ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App