सरकारले पूर्व तयारी बिना काठमाडौं उपत्यका आसपासका सुकुम्बासी बस्तीमा चलाएको डोजर र बल प्रयोगको बिरोधमा शनिबार धरानमा प्रर्दशन गरिएको छ ।
सहभागीहरुले बालेन सरकार मुर्दावाद, उठिबास गरिएका सुकुम्बासीहरुको पुर्नवासको व्यस्था गर, मानव अधिकारको रक्षा गर, डोजर आतंक बन्द गर , भुमिहिन, दलित अव्यवसास्थित बसोबासीलाई न्याय दे जस्ता नारा लगाउँदै प्रदर्शन गरे । धरानमा सुकुम्बासीले श्रृखलाबद्द रुपमा प्रदर्शन गर्दै आएका छन् ।
धरानको छाता चोकबाट सुरु भएको प्रदर्शन भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा एमाले निकट भूमिअधिकार तथा श्रमिक संगठनका केन्द्रीय अध्यक्ष इन्द्र तामाङले भूमिहीन र सुकुम्बासीको दीर्घकालीन समस्या समाधानका लागि ल्याइएका विधेयकहरू संसदमा पुगे पनि आवश्यक राजनीतिक सहमति नहुँदा प्रक्रिया अघि बढ्न नसकेको बताए ।
तामाङले भूमिहीनको हक–अधिकार सुनिश्चित गर्ने विषयलाई दलगत स्वार्थभन्दा माथि राख्नुपर्ने भन्दै सबै राजनीतिक शक्तिहरूलाई जिम्मेवार बन्नु पर्ने बताए ।
धरान उपमहानगरपालिकाको अनुसार यहाँका २० वटै वडामा झण्डै १८ हजार हाराहारी घर परिवार सुकुम्बासी रहेका छन् । धरान उपमहानगरपालिकामा तीन खाले सुकुम्बासी रहेका छन् । जसमा भूमिहिन तथा दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासी रहेका छन् ।
धरान उपमहानगरपालिका क्षेत्रमा सवैभन्दा बढी वडा नं. ५ मा सुकुम्बासी रहेका छन् । त्यसपछि बढी क्रमशः १७, ११, १५, १६ र ४ मा रहेका छन् । धरानको वडा नं. १, १२ र १८ मा भने सीमित परिवार मात्र सुकुम्बासी रहेका छन् ।
प्रकाशित: ९ जेष्ठ २०८३ २१:०४ शनिबार





