काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित गरिएका सुकुम्वासीहरूलाई सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा स्थानान्तरण गरेको छ।
चाँगुनारायण नगरपालिकामा रहेको उक्त केन्द्रमा उनीहरूलाई निःशुल्क खाने र बस्ने व्यवस्था मिलाइएको छ।

एक सातायता उपत्यकाका विभिन्न नदी किनारका बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका १४० जनालाई हाल तालिम केन्द्रको होस्टेलमा राखिएको छ।
कोरोना महामारीका बेला संक्रमितलाई राख्न प्रयोग गरिएका दुईवटा भवनमा अहिले सुकुम्वासीलाई परिवारअनुसार छुट्टाछुट्टै कोठामा राखिएको छ। उक्त तालिम केन्द्रमा २५० जनासम्म अटाउने क्षमता छ।

तत्कालका लागि सुरक्षित बास र गाँसको प्रबन्ध भएपछि सुकुम्वासीहरूले खुसी व्यक्त गर्दै बालेन सरकारप्रति कृतज्ञता जनाएका छन्। काठमाडौंको टेकु बस्तीबाट गाडीमा राखेर त्यहाँ पुर्याइएका राजकुमार विकले भने, ‘तत्काल भए पनि हामी सुरक्षित साथ खानबस्न पाइरहेका छौं। बिहान–बेलुकी दाल, भात र तरकारी, दिउँसो खाजा तथा दिनमा दुई पटक चिया–बिस्कुट खान पाइरहेका छौं।’
विस्थापित भएपछि अल्पकालीन रूपमै भए पनि राम्रो आश्रय पाएकोमा उनीहरूले राहत महसुस गरेका छन्। तीन महिनाकी छोरी पूर्णिमालाई दूध खुवाउँदै गरेकी बबिताले भनिन्, ‘चार वर्षको छोरा शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छ, बच्चाको बुबा अस्पतालमै हुनुहुन्छ। म भए पनि यहाँ निःशुल्क खानबस्न पाउँदा दुःख थोरै भए पनि कम भएको छ।’

यद्यपि, बस्तीमा डोजर चल्दा कतिपयले आफूले लगाएको लुगाबाहेक केही निकाल्न नपाएको गुनासो गरेका छन्। वर्षौंको थातथलो छाड्नुपर्दाको पीडासँगै बालबालिकाको पढाइ छुटेकोमा उनीहरू गम्भीर चिन्तित छन्।
उनीहरूले सरकारसँग तत्काल स्थायी समाधान र दीर्घकालीन व्यवस्थापनको माग गरेका छन्।
यसैबीच, आइतबार प्रधानमन्त्री कार्यालयअन्तर्गत सचिवालयको एक टोलीले खरिपाटी पुगेर सुकुम्वासीहरूको अवस्था बुझेको छ। साथै, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्कासहितको टोलीले पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ।
त्यहाँ रहेका नागरिकसँग कुराकानी गर्दै प्रमुख खड्काले भनिन्, ‘सक्यो भने सोमबार नै स्वास्थ्य शिविर राख्ने योजना छ, सकेन भने पनि एक/दुई दिनभित्र शिविर हुन्छ।’
प्रकाशित: २० वैशाख २०८३ १९:१५ आइतबार





