२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

कोशीका १४ जिल्लाको माटो जाँच्दा भेटियो ८५ प्रतिशत अम्लीयपना

प्रदेशस्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीमा किसानको माटो परीक्षण गरिँदै ।

कोशी प्रदेश अन्नबाली उत्पादनको उर्बरभूमि मानिन्छ । यहाँका १४ वटै  जिल्लाको  माटोमा अम्लीयपनको ग्राफ हरेक वर्ष उकालो लाग्नु किसानको चिन्ताको विषय बन्न पुगेको  छ ।  

प्रदेशस्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा गरेको परीक्षणका आधारमा  नौं हजार ७१२ वटा नमूना माटो परीक्षण गर्दा ८५.५ प्रतिशत माटो अम्लीयपन भेटिएको  छ।  

माटो परीक्षण नतिजाको आधारमा झापामा ९३.३ प्रतिशत, मोरङमा ७७.७ प्रतिशत, सुनसरीमा ६८.७ प्रतिशत, उदयपुरमा ८३.९ प्रतिशत, खोटाङमा ७८.८ प्रतिशत, ओखलढुङ्गामा ७५.८ प्रतिशत र  सोलुखुम्बुमा ९७.३ प्रतिशतमा अम्लीययन भेटिएको  छ । यस्तै, भोजपुरमा ८९ प्रतिशत, संखुवासभामा ९५ प्रतिशत, धनकुटामा ८८.८ प्रतिशत, तेह्रथुममा ८५.४ प्रतिशत पाँचथरमा ७८.५ प्रतिशत, इलाममा ६३.६ प्रतिशत र ताप्लेजुङ्मा ९६ प्रतिशत माटोको नमूनामा अम्लीयपन रहेको पाइएको  छ ।  

परीक्षण प्रयोगशालाको रेकर्ड अनुसार झापामा दुई हजार ९३९, मोरङमा एक हजार ६०, सुनसरीमा ५७१, उदयपुरमा एक हजार २२, खोटाङमा ५०१  ओखलढुङ्गामा ४९२ वटा माटोको नमूना लिएर परीक्षण गरिएको थियो । यस्तै, सोलुखुम्बुमा ४७४, भोजपुरमा ५३८, संखुवासभामा २९१, धनकुटामा ५०३, तेह्रथुममा ५०७, पाँचथरमा ४०४, इलाममा ३३२ र ताप्लेजुङ्मा ७८ वटा माटो नमुना लिएर परीक्षण गरिएको थियो । प्रदेशभरीको माटो परीक्षण गर्दा १३.१ प्रतिशत माटो तटस्थ र १.४ प्रतिशत माटो भने क्षारीय रहेको छ ।

अनुकुल माटो नहुँदा स्वाभाविक रुपमा उत्पादन घट्छ ।  

‘कोशी प्रदेशका तराईंका जिल्लामा किसानले बढी मात्रमा धान खेती लगाउँछन्, धान खेती लगाउँदा अम्लीयपनको असर चाँडै देखिदैन, जसले गर्दा किसानले पत्ता पाइ सकेका छैन,’ परीक्षण प्रयोगशालाका सहायक माटो विज्ञ सन्तोष कट्टेलले भने, ‘यसको असर दीर्घकालिन रुपमा पर्छ । बेलैमा माटो सुधारका लागि अभियान नचलाएमा किसानले उत्पादन घटेर ठूलो क्षती बेर्होनुपर्छ ।’ केही वर्षअघिसम्म कोशी प्रदेश सरकारले माटो सुधारका लागि किसानलाई अनुदान समेत दिने गरेको थियो ।  

प्रदेशस्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीका कार्यालय प्रमुख माटो विज्ञ दिगम्बर यादवका अनुसार अम्लीयपन बढी भएको माटोमा कृषि चुनको प्रयोग गर्नुपर्ने अवस्था छ । यसका लागि किसानलाई सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको  छ ।  

कोशी प्रदेशका संखुवासभाबाहेक १३ जिल्लाको सात हजार १६६ वटा माटोको नमूनाका आधारमा प्राङ्गरिक पदार्थ विश्लेषण गरिएकोमा ५०.८ प्रतिशत माटोमा कम रहेको छ । यस्तै, ३३.९ प्रतिशत माटोमा मध्यम र १५.३ प्रतिशत माटोमा अधिक भेटिएको छ । यस्तै, प्रदेशभरीका १४ वटै जिल्लाको आठ हजार ७३२ वटा माटोको नमूनाको नाईट्रोजन विश्लेषण गरिएकोमा ४५.९ प्रतिशत माटोमा कम, ३२.८ प्रतिशत माटोमा मध्यम र २१.३ प्रतिशत माटोमा अधिक रहेको पाइएको  छ ।  

यसैबीच, कोशी प्रदेशका १४ जिल्लाको आठ हजार ७०१ वटा माटोको नमुनाको फस्फोरसको विश्लेषण गरिएकोमा ४२.९ प्रतिशत माटोमा कम, १९.१ प्रतिशत माटोमा मध्यम र ३८ प्रतिशत माटोमा अधिक पाइएको छ । ‘माटोमा फस्फोरस उपयुक्त भएमा बोटविरुवाको जरा दह्रो हुने र उत्पादन स्वाभाविक बढ्नेछ,’ प्रयोगशालाका अधिकृत एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद यादवले भने । यस्तै, प्रदेशभरको आठ हजार ७०१ वटा माटोको नमुनाको पोटासको विश्लेषण गरिएकोमा २३ प्रतिशत माटोमा कम, ३४.२ प्रतिशत माटोमा मध्यम र ४२.८ प्रतिशत माटोमा अधिक पाइएको छ ।  

प्रकाशित: १७ मंसिर २०८२ १७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App