म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका पूर्वमन्त्री महावीर पुनले पोखरामा आत्मकथा बेच्ने क्रममा एक स्थानीयसँग भएको भनाभनको किस्सा सुनाएका छन्।
वीरगन्ज कृषि औजार कारखाना सञ्चालनार्थ आर्थिक जुटाउन पुस्तक बिक्री गरिरहेका उनले भिडभाडका बीच भएको उक्त घटना सोमबार सामाजिक सञ्जालमार्फत सुनाएका हुन्।
पुस्तक बिक्रीका क्रममा फोटो खिचाउनेहरूको बाक्लो उपस्थिति हुँदा भिड व्यवस्थापन गर्न आफूले एक व्यक्तिलाई पछाडि धकेलेको उनले बताएका छन्। सांसदको व्यवहारबाट आक्रोशित बनेका ती व्यक्तिले सांसद रहेको व्यक्तिले सडकमा पुस्तक बेच्ने कि जनताको काम गर्ने भनेर प्रश्न गरेका थिए।
घटनाको विवरण दिँदै उनले लेखेका छन्, ‘फोटो खिच्नेहरूको हुलमा मैले एकजना मान्छेलाई पछाडि धकेलेँ। अनि सांसद भएर किताब बेच्ने हो कि जनताको काम गर्ने हो भनेर कुर्लियो। मैले कारखाना पनि जनताकै लागि चलाएको हो भनेँ।’
आफ्नो जवाफ सुनेपछि ती व्यक्ति थप रिसाउँदै ‘मलाई किन धकेलिस्’ भनेर ‘थुक्क’ भन्दै हिँडेको पुनले सुनाए। भिडभाडमा आफूले अरूलाई पनि धकेलेको उल्लेख गर्दै उनले यस घटनालाई रमाइलोको रुपमा लिएको उल्लेख गरे।
सोमबार पोखराका विभिन्न स्थानमा पुगेर उनले ८ सयवटा पुस्तक बिक्री गरेका छन्। बिहान १० बजे अमरसिंह चोकबाट बिक्री सुरु गरेका उनले दिउँसो १ बजे पृथ्वीचोक र ४ बजेपछि महेन्द्रपुलमा पुस्तक बेचेका हुन्।
पोखरामा पाठकको माग उच्च देखिएपछि काठमाडौंबाट थप पुस्तक मगाइएको उनले बताए।
यसअघि चुनाव लड्ने क्रममै पुस्तक बेच्ने योजना बनाएर किताब लगेको भए पनि निर्वाचन आयोगले रोक लगाएको उनले स्मरण गरेका छन्।
हाल वीरगन्जस्थित कृषि औजार कारखाना राम्रोसँग सञ्चालन भइरहेको र त्यसलाई निरन्तरता दिन आर्थिक अभाव हुन नदिन सडकमै आएर आत्मकथा बेच्नुपरेको उनले बताएका छन्।
प्रकाशित: २५ फाल्गुन २०८२ २०:५२ सोमबार





