कालीकोटको रास्कोट नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि नगरपालिकाले घरदैलोमा नै पुगेर सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको हो।
पहिलो चौमासिकमा घरदैलोमा पुगेर भत्ता वितरण गरेको नगरपालिकाले तेस्रो चौमासिक वापत माघदेखि चैत्रसम्मको भत्ता घरदैलोमा नै पुगेर वितरण गरेको नगरप्रमुख धर्मराज शाहीले जानकारी दिए।
उनका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झन्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो। उनले भने, ‘पहिलो प्राथमिकता नै अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई कसरी सहज रूपमा गाउँमै भत्ता पुर्याउन सकिन्छ भन्ने थियो, त्यो पूरा गर्न सफल भएको अनुभूति भएको छ।’ ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले बैंकमा लाठी टेकेर पैसा माग्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ।
स्थानीय ७५ वर्षीय गवदे लुवार र उनकी पत्नी मना लुवारले हिँड्न नसकिने उमेरमा गाउँमा भत्ता पाउदा खुसी व्यक्त गरे। गवदे लुवारले भने, ‘यो उमेरमा बैंक पुगेर फर्कन सक्ने अवस्था थिएन, लाइन बस्नुपर्ने झन्झट थियो, घरमै पैसा पाउँदा हाम्रो परिवारलाई सुविस्ता भयो।’
रास्कोट नगरपालिकाको–१,२ र ३ मा राष्ट्रिय वाणिज्य बैंक मार्फत आइतबार भत्ता वितरण गरिएको छ भने ६,७,८,९ वडाका बासिन्दालाई सम्बन्धित ग्लोबल आइएमई बैंकबाट १३ गते उक्त भत्ता वितरण गरिनेछ। यस्तै वडानम्बर ५ का नागरिकले नगरपालिकाको बैंक मार्फत बुझ्ने छन्।
टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख हुकुम शाहीले बताए। नगरपालिकाको यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन्।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गाउँ तथा वडा कार्यालयबाट गर्दै आइरहेको छ।
प्रकाशित: १० जेष्ठ २०८३ १९:४६ आइतबार


-600x400.jpg)


