सर्लाहीको नेपाल–भारत सीमामा तस्करी रोकिएको छैन। नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ निरन्तर तस्करी भइरहेको नियन्त्रणमा लिइएका सामानले प्रमाणित गरेको छ।
सर्लाहीको नारायणपुर प्रहरी चौकीले भारतबाट ल्याइएका लाखौँका तस्करीका सामान बरामद गरेको छ। सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुर चौकस्थित भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइएका सामानहरू नारायणपुर प्रहरीले बरामद गरेको हो।
भारतबाट तस्करी गरेर ल्याइएको बिआर ३० एफ ३०८७, बिआर ३० एच ०५३५, बिआर ३० एच २६२८ र बिआर ३० टी ६९८६ नम्बरको मोटरसाइकलमा विभिन्न किसिमका ६ बोरा कपडाहरू लोड गरेर ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब निरीक्षक सुजन पुडासैनी र प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीक्षक अजित राय यादवको कमान्डमा खटिएको टोलीले बरामद गरेको हो।
लाखौँ मूल्य पर्ने ६ बोरा कपडालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मलङ्गवा भन्सारमा बुझाएका छन्।
प्रहरी टोलीले चेकजाँच गरिरहेको देखेपछि भारतबाट तस्करी गरेर ल्याइएका मोटरसाइकलसहित कपडाको बोरा छाडेर तस्करहरू फरार भएका थिए। फरार तस्करको खोजी भइरहेको प्रहरी सर्लाहीका सह-प्रवक्ता इन्स्पेक्टर बिन्देशवर यादवले बताए।
धमाधम तस्करीको सामान पक्राउ गर्दै भारतीय एसएसबी
सर्लाहीको पूर्वी नाका हुँदै भारततिर तस्करी भएर गएको लाखौँका चिनियाँ सामग्री र दुई बोलेरोसहित दुई जनालाई नियन्त्रणमा लिएको भोलिपल्ट (शनिबार) सर्लाही प्रहरीले चार मोटरसाइकल कपडा नियन्त्रणमा लिएको हो।
तस्करीका सामान भारतीय सुरक्षाकर्मीले धमाधम नियन्त्रणमा लिन थालेपछि तस्करी पुष्टि भएको बुझिएको छ।
गत बुधबार भारतको सीतामढी जिल्ला सीमा क्षेत्रमा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ले सखुअवा र संग्रामपुर नाका हुँदै भित्र्याइएको चिनियाँ लसुन र खरबुजाको बीउ बोकेको दुईवटा महिन्द्रा बोलेरो पिकअप नियन्त्रणमा लिएपछि सेटिङमा चलिरहेको तस्करीको यथार्थ सेटिङ बाहिरिएका छन्।
नेपाली सीमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा रातिको मौका छोपेर तस्करहरूले चिनियाँ सामान, रक्सी, विभिन्न किसिमका पेष्ट, क्रीम लगायतका मालसामानको तस्करी भइरहेको भरतीय सुरक्षा अधिकारीसमक्ष पुगेको सूचनाका आधारमा भारतीय पक्षले तस्करी नियन्त्रणका लागि नेपाल-भारत सीमा क्षेत्रमा पाल टाँगेर बसेका छन्।
बुधबार सर्लाहीको पूर्वी नाका हुँदै गएको तस्करीको सामान एसएसबीले दुई वटा पिकअपबाट बरामद गरिएको ६७ बोरा (१२०६ किलोग्राम) चिनियाँ लसुन र ३७२४ किलोग्राम खरबुजाको बीउ नियन्त्रणमा लिएपछि सर्लाही प्रशासनको मिलोमतोमा तस्करी भइरहेको पुष्टि भएको छ।
तस्करहरूको समूहले सुरक्षाकर्मीहरूसँग लाइन मिलाएर दिनदहाडै सामान ओसारपसार गर्ने गरेको स्थानीय श्रोतको दाबी छ।
सशस्त्र प्रहरीका संगठन प्रमुख राजु अर्याल अवकाशको मुखमा रहेकाले सीमा क्षेत्रमा खटिएका युनिट इन्चार्जहरू तस्करी कार्यलाई बढावा दिएको श्रोतको भनाइ छ। सर्लाहीको पूर्वी नाका संग्रामपुर, सखुअवा, नारायणपुर, त्रिभुवननगरदेखि पश्चिमका भाडसर, बहादुरपुर, सिमरा, अर्नाहा, मधुवनी, बलरा, छनकी सम्म तस्करीको ‘रुट’ स्थापित भइसकेको छ।
गत केही दिनअघि यस्तै प्रकरणमा मधेश प्रदेशका उच्च तहका सुरक्षा अधिकारीहरू समेत विवादमा तानिएका छन्। पछिल्ला दिनमा बाहिरिएका विवरणहरूले तस्करी सञ्जाल केवल सीमित समूहको नभई ‘माथिदेखि तलसम्मको संरक्षित नेटवर्क’ भएको आशंका गरिएको छ।
प्रकाशित: १३ वैशाख २०८३ १०:५४ आइतबार





