२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

भारतीय भन्दै नियन्त्रणमा लिइएका तीन गाडी कुखुरा फिर्ता

रौतहटमा सशस्त्र प्रहरीले भारतीय तस्करीको आशंकामा नियन्त्रणमा लिएका तीन पिकअप बोइलर कुखुरा गौर भन्सार कार्यालयले व्यवसायीकै जिम्मा लगाएको छ।

फार्मको बिलबिजकमा समस्या देखिए पनि जीवित पक्षीको क्षति रोक्न वडा कार्यालयको सिफारिसमा कुखुरा व्यवसायीलाई जिम्मा लगाइएको हो।

गौर भन्सार कार्यालयका प्रमुख बिकास रजकका अनुसार कागजात परीक्षणका क्रममा पोल्ट्री फार्मको बिलबिजकमा कैफियत देखिएको थियो।

‘कागजात जाँच गर्दा पोल्ट्री फार्मको बिलबिजकमा समस्या देखिएको हो,’ भन्सार प्रमुख रजकले भने, ‘तर कुखुरा मर्ने जोखिम, कुखुरा व्यवसायी र वडा कार्यालयको सिफारिस बमोजिम कुखुरा व्यवसायीकै जिम्मा लगाइएको छ। बिलबिजकको विषयमा थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय सिमराको जिम्मा लगाइएको छ।’

यसअघि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटको टोलीले परोहा नगरपालिका–९ स्थित अरमान एग्रो पोल्ट्री फार्मबाट काठमाडौंतर्फ लैजान लागिएका बागमती प्रदेश ०१–०२७ च ८४८३, ना ५ च १८९८ र प्रदेश २–०३–००१ च ०६७७ नम्बरका तीन वटा पिकअप नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रबाट शंकास्पद रूपमा ओसारपसार भइरहेको आधारमा नियन्त्रणमा लिएको बताएको थियो भने किसानहरूले आफ्नै फार्ममा उत्पादित कुखुरालाई भारतीय भन्दै नियन्त्रणमा लिएको आरोप लगाएका थिए।

व्यवसायीहरूले फार्म दर्ता, अनलाइन इन्ट्री, चल्ला तथा दाना खरिदको बिल र भेटेरिनरी प्रमाणपत्रलगायत आवश्यक सबै कागजात साथमै रहेको दाबी गर्दै आएका थिए।

जीवित कुखुरा धेरै समय नियन्त्रणमा राख्दा निसास्सिएर मर्ने र लाखौंको क्षति हुने भन्दै जिल्ला कुखुरा व्यावसायिक किसान संघले विरोध जनाएको थियो।

संघका सचिव राधेश्याम साहले खुला सीमाबाट हुने भारतीय कुखुराको अवैध आयात रोक्न किसानहरू तीन सातादेखि आन्दोलनमा रहेको स्मरण गराउँदै स्वदेशी उत्पादनलाई अनावश्यक दुःख नदिन आग्रह गरेका थिए।

भन्सार कार्यालयले व्यावहारिक पक्ष र स्थानीय तहको सिफारिसलाई हेरेर कुखुरा व्यवसायीलाई फिर्ता गरेपछि तत्कालका लागि किसानको सम्भावित आर्थिक क्षति टरेको छ।

यद्यपि, बिलबिजक र करसम्बन्धी अनियमितताको विषयमा भने आन्तरिक राजस्व कार्यालय सिमराले थप अनुसन्धान अघि बढाउने भएको छ।

प्रकाशित: २८ भाद्र २०८३ २०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App