भोटेकोशी बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण जहरेखेतस्थित सबस्टेसनमा करिब १० फिटसम्म लेदोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।
नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी सबस्टेसनको मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको थियो। प्राधिकरणका अनुसार भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा आएको हो।
सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतका २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक–मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ।
प्राधिकरणले सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको जनाएको छ। नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको प्राधिकरणको भनाइ छ।
प्रकाशित: २८ भाद्र २०८३ २०:४० आइतबार





