उत्सव, समारोह, पूजालगायतमा बढ्दो डीजे बाजा (चर्को आवाजमा बजाइने बाजा) नियन्त्रण गर्न प्याबसन सिरहाले अपील गरेको छ। प्याबसनले आउँदो सरस्वती पूजामा डीजे बाजा र तडकभडक बिनाको मौलिक पूजा गर्न विद्यालयहरूलाई आग्रह गरेको छ।
मनोरञ्जनको आडमा बजाइने डीजे बाजाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र चर्को आवजका कारण सवारी दुर्घटनाको जोखिम समेत निम्तिने भन्दै यसमा नियन्त्रण गर्न प्याबसन सिरहाका अध्यक्ष उमेशप्रसाद चौधरीले प्रशासन तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
उत्सवहरूमा चर्को आवाजमा बजाइने डिजे बाजाका कारण मानिसको शान्तिपूर्ण रूपमा बस्न पाउने अधिकारको हनन हुने, विद्यार्थीहरूको पठनपाठनमा अवरोध पुग्ने भएकाले सरस्वती पूजाको अवसरबाटै हामीले आफैँबाट यो अभियानको सुरुवात गरेका छौं,' अध्यक्ष चौधरीले भने, ‘हामी चाहन्छौँ यसको सकारात्मक सन्देश अन्य ठाउँमा पनि पुगोस्।’
हुन त यसअघि स्थानीय प्रशासनले पटकपटक सूचना नै जारी गरी डिजे बाजा बजाउन रोक लगाइसकेको छ। यसअघि कतिपय ठाउँमा निर्णय उल्लंघन गरी डिजे बाजा बजाएको पाइएपछि जफत समेत गरिएका छन्। तर, यो अभियान प्रशासन र प्रहरी प्रमुखहरू बदली भएसँगै हराउने गरेको पाइएको छ।
उत्सव, समारोहलगायतमा ट्याक्टर, पिकअप जीपलगायतका सवारी साधनको पछाडि डीजे बाजा राखेर बजाउने यस भेगको संस्कार जस्तै भइसकेको छ।
सिरहा, लहान, कल्याणपुर लगायतका नगरपालिकाले डिजे बाजा बजाउन सूचना नै जारी गरी रोक लगाएको छ। तर, यसको कार्यान्वयन पक्ष भने फितलो पाइएको छ। सिरहामा गोपाल अघिकारी सिडिओ र उमाप्रसाद चतुर्वेदी एसपी हुँदा प्रशासनले सूचना जारी गरेर प्रहरी मार्फत नियन्त्रण अभियान चलाएपछि सिरहावासी चयनको सास फेर्न पाएका थिए। तर, पछिल्लो समय डीजेको चर्को आवाजले स्थानीय आजित बनेका छन्।
‘गीत बजाउन नपाइने होइन तर डीजे बाजाको चर्को आवाजले ध्वनि प्रदूषणसँगै वातावरण र मानवीय स्वास्थ्यमा असर पर्छ। आम मानिसको शान्तिपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि हामीले यो निर्णय गरेका हौं प्यावसन सिरहाका उपाध्यक्ष उमेश कुमार यादवले भने।’ यो सँगै हामीले सरस्वती पूजालाई सादगीपूर्ण, सद्भाव, आस्थाको मौलिक पूजाको रुपमा मनाउन विद्यालयको पोशाकमै विद्यार्थीलाई सहभागी हुन अनिवार्य गरेका छौं, उनले भने।
मौलिक संस्कृतिलाई जोगाउँदै विकृति नबढ्ने खालका वातावरणमा मनोरञ्जनात्मक कार्य गर्न रोक छैन,’ उनले भने, ‘डीजे बाजा तथा यसमार्फत चर्को आवाजमा बजाइने अश्लील गीतले समाजमा नकारात्मक असर परिरहेकाले नियन्त्रणका लागि हामीले पहलकदमी लिएका हौं।’
चर्को आवजको असर
मानिसका श्रवण क्षमता सामान्यतः ० देखि २५ डेसिबल (डिबी) को बिचमा हुन्छ। औसतमा डीजेको आवाज ८५ डिबी भन्दा बढी हुन्छ, जो निकै खतरनाक मानिएको छ। यो चरम ध्वनि प्रदूषण हो र यसले गर्दा समाजमा कैयौँ स्वास्थ्य समस्या र प्रभाव परिरहेको छ। आवाज (स्वर, ध्वनि) कुनै कर्णप्रिय लाग्दछन् भने कुनै कर्णकटु। कर्णप्रिय आवाजका रूपमा गीत/संगीतलाई लिइन्छ तर त्यो पनि चाहिने र मानिसको श्रवण गर्ने क्षमताभन्दा बढी आवाजको भयो भने त्यो कर्णकटु हुन्छ। यस्तैमा पर्दछ– डीजे।
सन् १९७० मा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले गरेको एक अध्ययन अनुसार ‘गर्भावस्थामा अत्यधिक आवाजको सम्पर्कमा रहँदा नवजात शिशुमा उच्च आवृत्ति (फ्रिक्वेन्सी) सुन्ने क्षमतामा कमी हुनसक्छ। यसको कारणमा गर्भावस्थामा उच्च आवाज वा अचानकको आवाज रहेको पाइएको छ, जसले हृदयको गति बढाउँछ। यसले शिशुको विकाससम्बन्धी समस्या पनि उत्पन्न गर्न सक्छ, जो अपरिवर्तनीय हुन्छ, जुन गर्भधारणको पहिलो १४ देखि ६० दिनभित्र हुन्छ। यो त्यतिबेला हुन्छ, जतिबेला गर्भावस्थामा शिशुको इन्द्रीय र अन्य अंगहरूको विकास भइरहेको हुन्छ। यो समयमा जन्मदोष तथा जन्मभार पनि उत्पन्न हुनसक्छ।’
अर्को तथ्य के पनि पत्ता लागेको छ भने ‘ध्वनि प्रदूषणका कारण गर्भमा रहेका शिशुको पोषक तत्व र अक्सिजन पुर्याउने गर्भाशयका रक्तनलीहरूलाई साँघुरो बनाउन सक्छ। यी कुराबाट वञ्चित शिशुको जन्म जटिल बन्न सक्दछ।’ ध्वनि प्रदूषण भनेको चाहिनेभन्दा बढी मात्राको आवाज हो।
ध्वनि प्रदूषणको असर मानिसको सक्रिय जीवनदेखि गर्भको शिशुसम्मलाई पर्ने गम्भीर प्रकृतिका नकारात्मक असरहरूबारे व्यापक चेतना जागृत गराउनुसँगै नियन्त्रणकारी कदम चालिनुपर्छ।
प्रकाशित: १९ पुस २०८२ ११:२३ शनिबार





