सुनसरीको देवानगन्जमा युवतीको विषयलाई लिएर उत्पन्न विवादमा गोली हानी घाइते बनाइएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया सफल भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि यादवमाथि गोली प्रहार भएको थियो।
कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेका उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज शल्यक्रिया गरी गोली निकालिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार गोली प्रहार लगत्तै देवानगन्ज गाउँपालिका-२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरिएको छ।
उक्त घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको तीव्र रूपमा खोजी भइरहेको सूचना अधिकारी खड्काले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट एउटी युवतीको विषयलाई लिएर युवाहरूबीच भएको विवाद र त्यसबाट उत्पन्न पुरानो रिसइबीका कारण योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८३ १६:४६ आइतबार





