सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन्। व्यावसायिक रूपमा भेडापालन गरिरहेका किसानको पेसा नै सङ्कटमा परेको हो।
चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडापालन पेसा सङ्कटमा परेको स्थानीय ७२ वर्षीय भेडापालक किसान गोविन्द कठेतले बताए। उनका अनुसार दुई वर्षको अवधिमा करिब २० जनाले भेडापालन व्यवसाय छाडेका छन्।
कृषक कठेतले भने, “सामुदायिक वनमा चराउन शुल्क तिर्नुपर्छ। चरण क्षेत्रको अभावले धेरैले व्यवसाय छाड्दै गएका छन्। चरनमा छाडा कुकुरले भेडा मारी दिँदा नोक्सानी भोग्नुपरेको छ।”
मैयुङ क्षेत्रमा भोजपुर र खोटाङका १८ देखि २० जना मात्र अहिले व्यावसायिक रूपमा भेडापालन गरिरहेका छन्। राज्यले संरक्षण नगरे यो पेसा सङ्कटमा पर्ने कठेतको भनाइ छ।
मैयुङ क्षेत्रमा पर्ने सात सामुदायिक वनमा शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले बताए। एउटा वनमा चराएबापत प्रति भेडीगोठ पाँच सयदेखि पाँच हजार रूपैयाँसम्म शुल्क तिर्नुपर्छ। करिब तीन महिना मात्र सो क्षेत्रमा भेडा चराए एक वर्षको शुल्क तिर्नुपर्ने अवस्था छ। कृषक कठेतले भने, “वनका आआफ्ना नियम छन्। कसैले प्रति भेडा ५० लिन्छन्, कसैले एकमुष्ट लिने गरेका छन्।”
छाडा कुकुर पनि भेडापालक किसानका लागि ठूलो चुनौती बनेको अर्का किसान शेरबहादुर कठेतले बताए। गत पुसदेखि हालसम्म कुकुरले यहाँका भेडी चोकका करिब एक सयको हाराहारीमा भेडा मारेको उनले बताए।
उनले भने, “कुकुरले छिनभरमा भेडा मारिदिन्छ। स्थानीय सरकारले कुकुर नियन्त्रणमा ध्यान दिनुपर्छ।”
भेडापालक कृषकले भेडा, ऊन, घ्यू, मही लगायत बिक्रीबाट आम्दानी लिनुका साथै ऊनबाट बन्ने राडी, लुकुनी लगायत बिक्री गर्दै आएका छन्। एक सय ओटासम्म भेडा भए वार्षिक रु चार लाखसम्म आम्दानी हुने कृषकको भनाइ छ।
प्रकाशित: २ भाद्र २०८२ ०९:३८ सोमबार





