अनाथ बालबालिकाको स्याहार सुसार गर्दै आएको गाईघाटस्थित ‘साझा सेवा घर’ आफ्नै भवनमा सरेको छ । यसअघि त्रियुगा नगरपालिका ११ पुरानो गाईघाटमा भाडामा सञ्चालन हुदै आएको साझा घर नयाँ भवन निर्माणसँगै सरेको हो ।
साझा घरका लागि त्रियुगा नगरापलिका १२ त्रिबेणीटोलमा सुविधा सम्पन्न २ तले भवन बनेको छ । तत्कालीन माओवादी नेता राष्ट्रिय सभाका सांसद गोपी अछामीको पहलमा विनियोजित बजेटबाट साझा घरको भवन बनेको सञ्चालक समिति अध्यक्ष गीता खड्का कार्कीले बताईन् । उनका अनुसार सङ्घीय सरकारको सहयोगमा शहरी विकास मन्त्रालयले आर्थिक वर्ष ०८०/८१ म १ करोड ५० लाख र ०८१/८२ मा १ करोड गरी अढाई करोड लागतमा भवन निर्माण भएको छ ।
शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयले भर्खरै निर्माण सम्पन्न गरेपछि सेवा घर सारिएको सञ्चालक कार्कीको भनाइ छ । नयाँ भवन बनेसँगै बिहीबार भाडाको घरबाट आफ्नै भवनमा सरेको उनले बताईन् । भाडाको घरमा बस्दा बालबालिकालाई स्याहार्न तथा भाडा तिर्न गाह्रो भईरहेका बेला आफ्नै स्वामित्वमा नयाँ भवन पाएपछि सहज भएको र बालबालिका पनि रमाएको कार्कीले बताईन् ।
नयाँ भवनमा सरेपछि आश्रित बालबालिका रमाएर नाचगानसमेत गरेको उनले बताईन् । त्यहाँ ११ जना अभिभावकविहीन, टुहुरा र बेवारिसे बालबालिका आश्रित रहेको कार्कीको भनाई छ । उनीहरु सबैको संरक्षण, पालनपोषण र अभिभावकत्व तथा स्याहार सुसार आफैले गर्दै आएको उनले बताईन् ।
कार्कीकै अगुवाईमा बेवारिसे, अभिभावकविहीन, अनाथ तथा टुहुरा बालबालिकाको रेखदेख गर्ने उदेश्यले ४ वर्षअघि साझा सेवा घरको स्थापना भएको थियो । स्थापनाकालमा धेरै कष्ट गरेर व्यवस्थापन गर्दै आएको साझा सेवा घरले भवन पाएपछि एउटा ठूलो चुनौती सकिएको र अब बालबालिकाको हेरचाह, संरक्षण र शिक्षादीक्षामा मात्र केन्द्रित हुने उनले बताएकी छिन् ।
कार्कीलगायत महिला मात्र रहेको समितिले साझा सेवा घर सञ्चालनमा ल्याएको हो । घर सञ्चालन (व्यवस्थापन) समितिमा अध्यक्षलगायत सबै पदाधिकारी महिला छन् भने सल्लाहकार मात्र पुरुषलाई राखिएको छ ।
प्रकाशित: ११ मंसिर २०८२ २१:३८ बिहीबार





